समाचार
काभ्रेको धुलिखेलमा गठबन्धनको पक्षमा उर्लियाे जनलहर

बनेपा । स्थानीय तहको निर्वाचनमा एमालेले नगर प्रमुख पद जितेको धुलिखेल नगरपालिकामा लोकतान्त्रिक–बाम गठबन्धनको पक्षमा माहौल देखिएको छ । प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन २०७९ को लागि गठबन्धनले धुलिखेलका विभिन्न वडामा गरेको घरदैलोमा स्थानीयले उम्मेदवारलाई भव्य स्वागत गरेका छन् । स्थानीय तहको निर्वाचन २०७९ मा धुलिखेलमा एमालेका जिल्ला अध्यक्ष अशोककुमार व्याञ्जु श्रेष्ठ निर्वाचित भएका थिए । एमाले निर्वाचित जिल्लाको एकमात्रै स्थानीय तह धुलिखेलमा लोकतान्त्रिक वाम गटठबन्धनको पक्षमा जनलहर देखिएको हो ।
गठबन्धनको तर्फबाट प्रतिनिधी सभा क्षेत्र नं २ मा प्रत्यक्षतर्फ उम्मेदवार रहेका नेपाली कांग्रेसका शिवप्रसाद हुमागाई र प्रदेश सभा २ (क) का उम्मेदवार नेकपा (एकिकृत समाजवादी) का लक्ष्मण लम्साल लगायत समानुपातिकतर्फ प्रतिनिधी सभाका उम्मेदवार माओवादी केन्द्रका दिलसुन्दर श्रेष्ठ, मिना तामाङ, प्रदेश सभातर्फ कांग्रेसका सुरकृष्ण बैद्य, लक्ष्मी दनुवार, शान्ता थापा क्षेत्री, माओवादी केन्द्रका रुकु चौलागाई, भोला अर्याल, नेकपा (एकिकृत समाजवादी) की कल्पना श्रेष्ठ, हरिगोपाल प्रधानाङ्ग, दिलबहादुर तामाङलगायतका उम्मेदवारलाई धुलिखेलमा स्थानीयले सगुन, फुलमालासहित स्वागत गरेका हुन् ।
धुलिखेल बजार क्षेत्रमा भएको घरदैलोमा स्थानीयको बाक्लो उपस्थिती देखिएको थियो । श्रीखण्डपुर, भ्याण्डोल, केयु चोक, २८ किलो, छाप गाउँ, हस्पिटल चोकबाट सरस्वतीबजार हुँदै अड््डा बजारसम्म भएको घरदैलोमा स्थानीयले घर–घरमा स्वागत गरेका थिए ।
संविधानसभा सदस्य समेत रहेका नेकपा (एकिकृत समाजवादी) का पोलिट्व्युरो सदस्य कृष्णप्रसाद सापकोटा, जिल्ला लोकतान्त्रिक–बाम गठबन्धन जिल्ला परिचालन समितिका संयोजक रहेका कांग्रेस जिल्ला उपसभापति रमेशप्रसाद हुमागाई, माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य मर्दन सि. तामाङ (पेमा), गठबन्धनको नगर परिचालन समितिका संयोजक विदुरबहादुर वस्नेत, प्रचारप्रसार समितिका संयोजक दयासागर श्रेष्ठसहित नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी), नेपाल समाजवादी पार्टी, जनमोर्चा नेपालका जिल्ला तथा नगरस्तरीय नेता, कार्यकर्ताको सहभागिता रहेको थियो ।
श्रीखण्डपुरमा भएको कोणसभामा बोल्दै प्रतिनिधी सभाका प्रत्यक्षतर्फका उम्मेदवार शिवप्रसाद हुमागाईले मतदाताको आस्था र विचारमाथि ठेस पुग्ने कुनै काम नगर्ने प्रतिवद्धता जनाउँदै आफूलाई मतदान गर्न अनुरोध गरे । ढल प्रशोधन, जीर्ण पुल पुननिर्माण र खानेपानी लगायतका स्थानीयका समस्या समाधान गर्न तत्काल काम थाल्ने हुमागाईले प्रतिवद्धता जनाए । धुलिखेलको गिता मन्दिरमा गजुर हाल्ने प्रतिवद्धता समेत हुमागाईले व्यक्त गरेका छन् । कोणसभामा प्रदेश सभा २ (क) का उम्मेदवार लक्ष्मण लम्सालले स्थानीयको साथ, सल्लाह र सुझावकै आधारमा विकास निर्माणका काम अघि बढाउने र यसअघि थालिएका सबै योजनाहरुलाई तीब्र गतिमा सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे । प्रदेश सरकारबाट बजेट आफूले व्यवस्था गरे पनि कार्यान्वयन स्थानीय तहमार्फत गराउनुपर्ने विधिले गर्दा आफूले गरेको काममा अरुले जस लिएर जनतालाई दिग्भ्रमित गरेको बताए ।

