uncategorized

ट्रेन्डिङमा ‘प्रेमगीत–३’को पहिलो गीत ‘हात्ती ढुङ्गामा’

काठमाडौं, २२ माघ । सन्तोष सेनको फिल्म ‘प्रेमगीत–३’को पहिलो गीत ‘हात्ती ढुङ्गामा’ सोसल मिडिया युट्युवमा छोटो समयमै ट्रेन्डिङमा आउन सफल बनेको छ ।

यो समाचार तयार पार्दासम्म मंगलबार मात्रै ओएसआर मुभिजबाट रिलिज गरिएको ‘हात्ती ढुङ्गामा’ गीत ट्रेन्डिङ ८ मा आइसकेको छ ।

रिलिजमा आएको २० घण्टामै यो गीतको भिडियोले सात लाख भन्दा बढी भ्यूज पाइसकेको छ, भने दर्शकहरुबाट उत्कृष्ट प्रतिक्रिया बटुलिरहेको छ । यस गीतको भिडियोले अहिलेसम्म ४८ हजार भन्दा बढी लाइक्स मात्रै पाइसकेको छ ।

नयाँ युट्युव च्यानलमार्फत रिलिज गरिएको यस गीतको भिडियो १२–१३ घण्टादेखिनै ट्रेन्डिङमा आउँदा निर्माण टिम पनि दंग छ । निर्माता तथा निर्देशक सन्तोष सेनले छोटो समयमै फिल्मको गीतको भिडियो ट्रेन्डिङमा आएपछि खुसी व्यक्त गर्दै दर्शकहरुलाई आभार प्रकट गरेका छन् ।

सार्वजनिक ‘हात्ती ढुंगामा’ गीतलाई सागर आले र मेलिना राईले स्वरबद्ध गरेका हुन् । हर्क साउदको शब्द तथा कल्याण सिंहको संगीत रहेको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

फिल्मका मुख्य कलाकारहरु प्रदीप खड्का, क्रिष्टिना गुरुङ, सुनिल थापा, माओत्से गुरुङलगाएत फिचर्ड ‘हात्ती ढुङ्गामा’ गीतको भिडियोलाई बनिष साह र भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् ।

मनाङको रमणीय स्थलमा छायाङ्कन गरिएको गीतको भिडियोलाई दर्शकहरुले उत्कृष्ट प्रतिक्रिया दिइरहेका छन् ।

नयाँ वर्षको अवसरमा यही चैत २८ गतेबाट सम्पूर्ण दर्शकमाझ रिलिजमा आउँदै गरेको ‘प्रेमगीत–३’लाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेका हुन् ।

वर्षकै बहुप्रतिक्षित ‘प्रेमगीत–३’ अ फर्विडन लभस्टोरीमा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा क्षेत्री, समृद्धि शाही ठकुरी, कृजन गौतम, जीवन बराल, लक्ष्मी बर्देवा, जीवन भट्टराई, सुजल बस्नेत, राज थापालगाएत मुख्य भूमिकामा छन् । फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *