समाचार

मेमोरी कार्डको विषयमा विवाद हुँदा बुहारीको घाँटी थिची हत्या गर्ने चारजना सार्वजनिक

धनुषा, २० माघ । मोबाईलको मेमोरी कार्डको विषयमा विवाद हुँदा बुहारीको घाँटी थिची हत्या गर्ने चारजनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

गत १८ गते शनिबार धनुषाको औरही गाउँपालिका वडा नम्बर २ बस्ने २२ बर्षिया चिन्तामणी पासवानको घाँटी थिचेर हत्या गरेको आरोपमा उनका ५५ बर्षीय ससुरा राधाकृष्ण पासवान, ४५ बर्षिया सासु कुमला पासवान, ३० बर्षीय श्रीमान अनिल कुमार पासवान र २० बर्षिया नन्द पुनिता पासवानलाई प्रहरीले सोमबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

आरोपितहरुलाई हत्या आरोपमा पक्राउ गरी कर्तव्य ज्यानको मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले बताए । मृतक चिन्तामणी पासवान र उनको नन्द पुनिता पासवानबीच मोबाईलको मेमोरी कार्डको बिषयमा वादविवाद भएको र त्यसै विषयलाई लिएर चारैजना मिलेर चिन्तामणीलाई कुटपिट गरी घाँटी थिचेर हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

अभियुक्तहरुले अपराधलाई लुकाउनका लागि मृतक झुण्डिएको हो भनेर हल्ला खल्ला गरी जिउँदै रहेको भन्दै अटो रिक्सामा राखी उपचारका लागि प्रादेशिक अस्पतालमा पुर्याइ फरार भए का थिए।घटनाको सम्बन्धमा प्रहरीलाई जानकारी भएपछि जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले खोजतलास गर्ने क्रममा आरोपित मध्येका कुमला पासवान र पुनिता पासवानलाई जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ स्थित पेठिया बजारबाट आइतबार साँझ ५ बजे पक्राउ गरिएको थियो ।

त्यस्तै राधाकृष्ण पासवान र अनिल कुमार पासवानलाई आज (सोमबार) बिहान ६ बजे धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर २ स्थित बलहा टोलमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए ।

पक्राउ गरिएका चारै जनालाई प्रहरी हिरासतमा राखी घटना सम्बन्धमा थप अनुसन्धान गरिने बस्नेतले जनाए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *