कैलाली : कैलालीको घोडाघोडी नगरपालिकास्थित पहलमानपुरमा ३३ सय मेट्रिकटन क्षमताको शीतभण्डारगृह (कोल्डस्टोर) निर्माण अन्तिम चरणमा पुगेको छ । सुदूरपश्चिम महोन्याल कृषि तथा पशुपालन व्यवसायी प्रालिले करिब १६ करोड रुपैयाँ लगानीमा कोल्डस्टोर निर्माण गरिरहेको हो ।
कोल्डस्टोर निर्माणमा साना तथा मझौला कृषक आयस्तर वृद्धि परियोजनाले २ करोड १३ लाख, कृषि ज्ञानकेन्द्र कञ्चनपुरले ९ लाख तथा घोडाघोडी नगरपालिकाले ७ लाख ७२ हजार रुपैयाँ सहयोग गरेको प्रालिका अध्यक्ष रामबहादुर रावतले बताए ।
बाँकी लगानी कम्पनीका १ सय १ जना सेयर सदस्य तथा बैंकको रहेको अध्यक्ष रावतले जानकारी दिए । यही हिउँदे सिजनमा उत्पादित आलुलगायतका तरकारी राख्न मिल्ने गरी फागुनबाट कोल्डस्टोर सञ्चालनमा आउने तयारी छ ।
यता ६० प्रतिशत सरकारी अनुदानमा गोदावरीको हरैयामा बनाउने भनिएको कोल्डस्टोर अलपत्र छ । सञ्चालक सफर एग्रो प्रालिले एक वर्षअघि २ करोड २० लाख रुपैयाँ सरकारी अनुदान लिए पनि काम सुरु भएको छैन ।जिल्लामा कोल्डस्टोर नहुँदा स्थानीय तरकारी नस्ट भइरहेको थियो ।
यो कोल्डस्टोर सञ्चालनमा आएपछि भारतीय आयातलाई कम गर्न पनि सहयोग पुग्नेछ । कैलालीमा वर्षे, हिउँदे र वसन्ते गरी तीन सिजनमा वार्षिक करिब १० हजार हेक्टरमा तरकारी खेती गरिन्छ ।



