काठमाडौँ / विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानले ३५० हप्ता पार गरेको छ । महाअभियानले बबरमहलबाट त्रिपुरेश्वरसम्मको करीब एक हजार ५०० मिटर नदी क्षेत्र सफाइको जिम्मेवारी काठमाडौँ महानगरपालिका–११ लाई दिएको छ । वडाध्यक्ष हीरालाल तण्डुकारले वडा क्षेत्रको वाग्मती सफाइका लागि सक्दो काम गर्ने प्रतिबद्धता जनाउनुभयो । महाअभियानको ३५०औँ हप्ता पुगेको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्वउपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकार र महानगरपालिकाले वाग्मती सफाइमा गर्नु्पर्ने जति काम गर्न नसकेको बताउनुभयो । “वाग्मतीको सभ्यता जोगाउन सफा महाअभियानले चेतना जगाएको छ, ११ नं वडालगायत केही वडाले सफाइका लागि पु¥याएको योगदान महत्वपूर्ण छ, संविधानसभा सदस्य हँुदा पनि केही योजना अघि सारेको हो, अब पनि सांसदका हैसियतले गर्न सकिने सहयोग गर्छु”, उहाँले भन्नुभयो ।
वीर अस्पताललगायत केहीमा फोहर व्यवस्थापन सफल भएजस्तै आफूले वाग्मतीमा गर्ने योजना अघि सारे पनि सफल नभएको नेता सिंहको भनाइ थियो । आफू सानो हुँदा वाग्मती, विष्णुमतीमा बग्ने स्वच्छ पानीजस्तै फेरि बगाउन चाहेको उहाँले सुनाउनुभयो । शहरी विकास मन्त्रालयका सचिव मधुसू्दन अधिकारीले तीन महिनासम्ममा बञ्चरेडाँडाको ल्याण्डफिल्ड साइट तयार भई राजधानीको फोहर व्यवस्थापन हुने जानकारी गराउनुभयो । विशेष कार्यक्रमअघि भएको त्रिपुरेश्वर क्षेत्रको नदी सफाइमा ५० भन्दा बढी संस्थाका दुई हजार २०० भन्दा बढी अभियानकर्मी सहभागी भएका थिए । सफाइबाट १२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिनुभयो ।
सफाइ महाअभियानले ३५० हप्ता पार गर्दा नदीबाट १२ हजार मेट्रिक टन फोहर व्यवस्थापन भएको, २० हजारभन्दा बढी स्वयंसेवी सहभागी भएको जनाइएको छ । महाअभियानले अब वडा–वडालाई सफाइमा जिम्मेवार बनाउन लागेको घोषणा पनि आज गरियो । रुद्रमती सफाइ अभियानको ३०२औँ हप्तामा रातोपुलबाट कालोपुलसम्मको नदी किनारमा सफाइ गरियो । सफाइमा वातावरण संरक्षण अभियान, रुद्रमती सरोकार समाज, पहिलो पाइलालगायत संस्थाको सहभागिता थियो । सफाइबाट एक टन फोहर व्यवस्थापन गरिएको समाजका उपाध्यक्ष रोहित गिरीले राससलाई जानकारी दिनुभयो । रुद्रमती सफाइपछि समूह वाग्मती सफाइ महाअभियानको ३५०औँ हप्तामा सहभागी हुन त्रिपुरेश्वर पुगेको थियो ।
विष्णुमती सफाइ अभियानको २७७औँ हप्तामा तारकेश्वर नगरपालिकाको जरङ्गु पुल क्षेत्रमा सफाइ गरियो । सफाइमा तीनै वटा सुरक्षा निकाय, नगरपालिकाको १० नं वडाध्यक्ष अमृत थापा, स्थानीय संस्थालगायतको सहभागितामा भएको सफाइबाट छ टन फोहर व्यवस्थापन गरिएको कार्यक्रम संयोजक शोभाकान्त पाण्डेले जानकारी दिनुभयो । चक्रपथ पश्चिम खण्ड सफाइको १३०औँ हप्ताको समूह वाग्मती सफाइ महाअभियानको ३५०औँ हप्तामा सहभागी भएको संयोजक ताराबहादुर कुँवरले राससलाई जानकारी दिनुभयो । ललितपुर गोदावरी खोला सफाइको ४७औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी दुई टन फोहर व्यवस्थापन गरियो ।
सफाइमा १०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता रहेको संयोजक बेबी थापाले जानकारी दिनुभयो । उपत्यकाका अन्य स्थानका सफाइ अभियानकर्मी पनि आज त्रिपुरेश्वरमा भएको वाग्मती सफाइ महाअभियानको ३५०औँ हप्ताको विशेष कार्यक्रममा सहभागी भएका थिए ।



