विराटनगर / राष्ट्रियसभा सदस्यका लागि प्रदेश १ मा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ । राजधानी विराटनगरको वीरेन्द्र सभागृहमा बिहीबार विहानबाट सुरु भएको मतदान कार्य दिउँसो सम्पन्न भएको हो । सो क्रममा प्रदेश एकका स्थानीय तहका प्रमुख उपप्रमुख तथा प्रदेश सांसदहरुले मत खसालेको निर्वाचन आयोगले जनाएको छ । मतदानका क्रममा सभागृहको तल्लो तल्लामा अवस्थित मतदान केन्द्र ‘क’ मा प्रदेश सांसदहरुले मतदान गरेका छन् । प्रदेश एकमा ९३ जना सांसद रहेका छन् । ९१ जना सांसद मध्ये तत्कालिन एमालेबाट ५१ र माओवादीबाट १६ गरी कुल ६७ जना, प्रतिपक्षी दल कांग्रेसबाट २१, समाजवादी पार्टी नेपालबाट ३, राजपा र संघीय लिम्बूवानबाट समान १ जनाले मतदानमा सहभागिता जनाएका थिए । कांग्रेसका प्रदेश सभा सचेतक सूयर्माराज राईले मतदानका शान्त वातावरणमा सम्पन्न भएको र लोकतन्त्र रक्षाका लागि एक भएर मतदान प्रक्रियामा सहभागिता जनाएको बताए । त्यस्तै मतदानमा प्रदेश एकका १ सय ३७ स्थानीय तहबाट प्रमुख तथा उपप्रमुख गरेर कुल २ सय ७४ जनाले मतदान गरेका छन् । झापा गौरादहका मेयर रोहित साहले लोकतन्त्र रक्षाका लागि मतदान गरेको बताए । आफूहरुको मतले राष्ट्रियसभाका उम्मेदवारलाई जिताउने विश्वास रहेको बताए ।
राष्ट्रिय सभा सदस्यकालागि १ बाट नेकपा, कांग्रेस र समाजवादी पार्टीका ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेकपाको तर्फबाट दलिततर्फ पूर्वराज्यमन्त्री गोपी अछामी, महिलातर्फ इन्दिरादेवी गौतम र खुल्लातर्फ देवेन्द्र दाहालले उम्मेवारी छ । त्यसै गरी कांग्रेसबाट महिलातर्फ मीना पुलामी, दलिततर्फबाट निरबहादुर विश्वकर्मा र खुल्लातर्फ राजेन्द्र घिमिरेले उम्मेदवारी रहेको छ । समाजवादी पार्टी नेपालबाट दलितमा ज्ञानकुमार परियार, महिलातर्फ सदिना खातुन र खुल्लामा भरतराज दाहालले उम्मेदवारी प्रस्तुत गरेका थिए । प्रदेश १ मा यसअघि नेपाली कांग्रेसबाट सरिता प्रसाई, नेकपाका खेम नेपाली र हरिचरण शिवाकोटी रहेका थिए । गोलाप्रथामा दुई वर्षे कार्यकाल सम्पन्न भएसँगै बिहीबार निर्वाचन भएको हो ।



