सांसद दीपक मनाङेले एन्फाका अध्यक्ष गुरुङलाई हाने झापड

अ+
अ
अ-

गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे) ले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेका छन्। आजदेखि सुरु भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिताकै बेला खेल व्यवस्थापन नमिलाएको भन्दै गुरुङले खेल मैदानमै हात हालेका हुन्। अध्यक्ष गुरुङले खेलको नियम नबुझी आफूमाथि हातपात भएको बताए। ‘भोलिदेखि मनाङको खेल हो। उहाँहरु ५ दिनअघि नै आउनुभएछ। उतिबेलैदेखि होटल माग्नुभयो। त्यो हामीले दिन सक्दैनौं भनेपछि हात हाल्नुभयो,’ उनले भने, ‘मुख्यमन्त्री आइसक्नुभएको थियो। गेम सुरु हुन लागेको थियो। म स्वागतका लागि जाँदा जथाभावी बोल्दै हात हाल्नुभएको हो। सांसदको मर्‌यादा राखेर मैले केही गरिनँ।’

सांसद गुरुङले थप्पड हानेको स्वीकार गरे। ‘आयोजकले बदमासी गरेको छ। मनाङबाट प्लेअर आएको धेरै भइसक्यो। न ग्राउन्ड दियो, न खाने बस्ने खर्च छ,’ उनले भने, ‘मैले यही कुरा सोध्दा ठूलो कुरा गर्‌यो। अनि एक झापड हानेको हो।’

सामान्य खेलकुद रङ्‌गशालामा गर्ने, तर प्रदेशकै गौरवपूर्ण प्रतियोगिता भण्डारढिकमा गर्नु आयोजकको कमजोरी भएको उनले बताए। आयोजकले मनपरी सहयोग उठाउने र अपारदर्शी ढङ्‌गबाट आर्थिक अपचलन गरेको उनको आरोप छ।

मुख्यमन्त्री कप लेखनाथको भण्डारढिकमा सुरु भएको छ।