समाचार
कञ्चनपुरको नाकाबाट नेपाल भित्रिने पर्यटकहरुलाई भीमदत्त रथमा परिक्रमा
कञ्चनपुर : भीमदत्त नगरपालिकाले पर्यटन वर्षको अवसरमा पश्चिमी सीमानाका गड्डाचौकी हुँदै नेपाल भित्रिने पर्यटकलाई भीमरथमा परिक्रमा गराएको छ ।
पर्यटन वर्षका अवसरमा गड्डाचौकीमा आयोजना गरिएको कार्यक्रममा नगरपालिकाने त्यस नाकाबाट नेपाल भित्रिने पहिलो पर्यटक दक्षिण अमेरिकी नागरिक मिलिसा रस्तेगीसहित पाँच जना विदेशी पर्यटकलाई सम्मान गर्दै भीमरथमा परिश्रमा गराएको हो ।
सम्मानित हुनेमा एक जना दक्षिण अमेरिकी नागरिक मिलिसा रस्तेगी, तीन जना जर्मनी नागरिक र एकजना इटलियन नागरिक रहेका छन् । उनीहरुलाई प्रमुख अतिथि कञ्चनपुर क्षेत्र नम्बर-३ का प्रतिनिधि सभा सदस्य माननीय डा. दिपकप्रकाश भट्टले ढाका टोपी तथा खादा ओढाएर सम्मान गर्नुभएको हो ।
सम्मानपछि बोल्दै विदेशी नागरिकहरुले नेपालका तर्फबाट आफूहरुले पाएको सम्मानप्रति खुशी व्यक्त गरेका छन् । उनीहरुले नेपाल र नेपालीका बारेमा धेरै कुरा सुनेको बताउँदै आगमनसँगैको खुशीले फेरि फेरि आउनका लागि थप प्रोत्साहन मिलेको बताए ।
कार्यक्रममा सुदूरपश्चिमका वेषभूषा, पहिचान झल्किने छलिया नाच, भुवा नाच तथा राना थारुको नृत्य प्रस्तुत गरिएको थियो ।


