समाचार
सुदुरपश्चिम स्पोर्टस अवार्डः लाईफ टाईम एचिभमेन्ट विधालाई ठाकुर ग्रुपको साथ
धनगढी : धनगढीमा हुने प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्डलाई धनगढीको ठाकुर ग्रुपले साथ दिएको छ । नेपाल खेलकद पत्रकार मञ्च कैलालीले पुस १५ गते आयोजना गर्ने प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्डलाई ठाकुर ग्रुपले अवार्डको एउटा विधालाई प्रायोजन गरेर साथ दिएको हो । ठाकुर ग्रुपले लाईफटाईम एचिभमेन्ट अवार्डलाई प्रायोजन गरेको हो ।
यो विधाको नामा ठाकुर ग्रुप लाईफ टाईम एचिभमेन्ट अवार्ड रहने भएको छ । प्रायोजन सम्बन्धी सम्झौता पत्रमा ठाकुर ग्रुपका प्रबन्ध निर्देशक हरिशंकर ठाकुर र नेपाल खेलकुद पत्रकार मञ्चका सल्लाहकार दिपक उपाध्यायले हस्ताक्षर गर्नुभएको छ ।
सरकारी स्तरबाट हुनुपर्ने काम पत्रकारहरुले गरिरहेको अवस्थामा विभिन्न निजि क्षेत्रले सहयोग गरिरहेको थाहा पाएपछि आफुले पनि सामाजिक उत्तरदायित्व सम्झेर अवार्डलाई सहयोग गरेको ठाकुर ग्रुपका प्रबन्ध निर्देशक हरिशंकर ठाकुरले बताउनुभयो ।
उहाँले खेलकुद क्षेत्रका विभिन्न गतिविधिमा सहयोग गर्न आफु सधैं तयार रहेको र त्यसका लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । खेलकुद क्षेत्रको विकास लागि युवा व्यवसायीहरुको हातेमालोले आगामी दिनमा खेलकुद क्षेत्रमा लागेकाहरुलाई हौसला वढाउन सहयोग गर्ने अपेक्षा गर्दै मञ्चका सल्लाहकार दिपक उपाध्यायले ठाकुर ग्रुपलाई प्रायोजन गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
पुस १५ गते हुने अवार्ड विभिन्न ६ विधामा दिईनेछ । बर्ष पुरुष खेलाडी, बर्ष महिला खेलाडी, बर्ष युवा खेलाडी, बर्ष प्रशिक्षक, स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गरिने छ । चार वटा विधामा तीन÷तीन जनाको मनोनयन सार्वजनिक गरिनेछ भने स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्डको घोषणा कार्यक्रम आयोजना हुने दिनमा नै गरिनेछ ।
अवार्डका सवै ६ वटा विधाको प्रायोजन भईसकेको छ । बर्ष पुरुष खेलाडीलाई शारदा राईस मिल, बर्ष महिला खेलाडीलाई निसर्ग अस्पताल, वर्ष युवा खेलाडीलाई केटिएम वाईक, बर्ष प्रशिक्षकलाई दिनेश सोप स्पेशल अवार्डलाई माया मेट्रो हस्पिटल र लाईफ टाईम एचिभमेन्ट अवार्डलाई ठाकुर ग्रुपले प्रयोजन गरिसकेको अवार्ड कार्यक्रमका संयोजक तथा नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका महासचिव प्रदीप पाठकले जानकारी दिनुभयो ।
त्यसैगरी अवार्डको सह–प्रायोजकको रुपमा शौभाग्यश्वर फार्मेसी रहेको छ भने हस्पिटल पाटर्नरमा घोडाघोडी अस्पताल, हस्पिटालिटी पाटर्नरमा ड्रिम ग्रुप अफ म्यानेजमेन्ट र प्रवद्र्धकको रुपमा कैलाली जिल्ला खेलकुद विकास समिती र घोडाघोडी नगरपालिका रहेका छन् ।
चार वटा विधाका विजेतालाई नगद २५ हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ भने स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड पाउनेलाई नगद १० हजार सहित ट्रफी र मेडल प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।
