समाचार
स्वच्छ र शुद्ध खानेपानी प्रत्येक नागरिकमा पुर्याउँछौँ – मन्त्री मगर
काठमाडौं । खानेपानी मन्त्री बीना मगरले देशभरका प्रत्येक नागरिकमा स्वच्छ र शुद्ध खानेपानी पु¥याउन सरकार लागिरहेको बताएकी छन् । देशभरका सबै प्रदेशका जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यअनुसार खानेपानी विभागले उपलब्ध गराएको ‘खानेपानी गुणस्तर परीक्षण मोबाइल भ्यान’को आज शुभारम्भ गर्दै उनले सबै जनतामा स्वच्छ र शुद्ध खानेपानी पु¥याउन सरकार लागिरहेको बताएकी हुन् ।
“संविधानले नै हरेक नागरिक लाई स्वच्छ र शुद्ध खानेपानी पिउने अधिकारको ‘ग्यारेन्टी’ गरेको छ, त्यसलाई परि पूर्ति गर्न सरकार गम्भीर ढङ्गले लागेको छ”, उनले भनिन् । पानी र ढलका सम्बन्धमा सरकार योजना बनाएर अगाडि बढेको उनको भनाइ थियो ।मन्त्री मगरले विपद्का बेला कतिपय जनताले स्वच्छ र शुद्ध खानेपानी पिउन नपाएर बिरामी पर्ने गरेको बताउँदै खानेपानी गुणस्तर मोबाइल भ्यानको उपलब्धतासँगै सबै जनताले स्वच्छ र शुद्ध खानेपानी उपभोग गर्न पाउने बताइन् ।
ग्रामीण क्षेत्रमा सञ्चालित कतिपय आयोजनामा गुणस्तरीय पानी आए पनि कतिपय आयोजनामा गुणस्तर हीन पानी आउने गरेको बताउँदै उनले गुणस्तर हीन पानीको स्तरवृद्धिका लागि सरकारले विभिन्न कार्यक्रम अगाडि सारेको उल्लेख गरे। खानेपानी विभागका महा निर्देशक सुनिलकुमार दासले मोबाइल भ्यानको प्रयोगसँगै सबै प्रदेशका विभिन्न क्षेत्रमा पुगेर पानीको गुणस्तर परीक्षण गरिने बताए । यस्तै, विपद्को बेला पानी शुद्धीकरण सामग्री लगेर विपद् प्रभावित क्षेत्रमा वितरण गरिने हुँदा सबै जनताले शुद्ध खानेपानी प्रयोग गर्न पाउने उनको भनाइ थियो ।
रु दुई करोड १६ लाख लागतमा विभागले किनेको पाँच वटा भ्यान आज सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय बुटवल, पोखरा, सुर्खेत, जनकपुर र भरतपुर लाई मन्त्री मगरले वितरण गरेकी हुन् । विभागले गत वर्ष सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय इटहरी र धनगढीलाई भ्यान वितरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्

