समाचार
विराटनगरमा बेबारिसे युवाको खुट्टादेखि तलको भाग काटियो, ‘बर्जर डिजिज’ को समस्या रहेको पुष्टि
विराटनगर / विराटनगरको कोसी अस्पतालमा उपचार सुरु गरिएका ३५ वर्ष जतिका बेबारिसे युवाको देब्रे खुट्टाको घुँडादेखि तलको भाग काटेर फ्यालिएको छ ।
खुट्टा कुहिएको अवस्थामा उपचार सुरु गरिएका उनमा ‘बर्जर डिजिज’ को समस्या देखिएको छ । त्यही समस्या कारण घुँडादेखि तलको भाग शल्यक्रिया गर्दै काटेर फ्याल्नु परेको अस्पतालले जनाएको छ । चिकित्सकका अनुसार शरीरका नशा चाउरिएर रक्तसञ्चार बन्द भएपछि उत्पन्न हुने समस्यालाई ‘बर्जर डिजिज’ भनिन्छ । खुट्टामा सानो घाउ बोकेर ती युवा एक साता अघि अस्पतालमा आएका थिए । जिम्मा लिने कोही नभेटिएपछि उपचार नपाएका कारण त्यही घाउ बढ्दै गएर घुँडादेखि तलको भाग कुहिएको थियो । जसका कारण अस्पताल दुर्गन्धित बनेको थियो ।



