समाचार
ओली र प्रचण्डले यसै हप्ता विभागको टुंगो लगाउने
काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच यसै हप्ता विभागको जिम्मेवारी कस्लाई दिनेबारे टुंगो लगाउने सहमति भएको छ । सिंगापुरबाट स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएका ओलीलाई भेट्न पुगेका प्रचण्डले बालुवाटार पुगी सहमति निकाल्ने विषय राखेका हुन् ।
बालुवाटार स्रोतका अनुसार प्रचण्डले स्वास्थ्य अवस्थाबारे सोधेपछि विभागमा कुन कुन जिम्मेवारी कस्लाई दिनेबारे टुंगो लगाउनुपर्नेमा जोड दिएका थिए । जवाफमा प्रधानमन्त्री ओलीले यसै हप्ता सहमति बनाएर जानुपर्ने बताएका थिए । सहमति नबन्दा बाहिर गलत सन्देश गइरहेकोप्रति दुवै अध्यक्ष सचेत भएका थिए ।


