समाचार

तनहुँमा दश हजार पशुको बीमा

तनहुँ / तनहुँमा साढे १३ करोड मूल्य बराबरको पशुको पशुधन (बीमा) सुरक्षण गरिएको छ । दमौलीस्थित विभिन्न बीमा कम्पनीमार्फत रु १३ करोड ५२ लाख ९० हजार २०० मूल्य बराबरको १० हजार ७९५ पशुको पशुधन सुरक्षण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ । सबैभन्दा बढी ६ हजार ९६६ कुखुरा र सबैभन्दा कम ३३८ बङ्गुरको बीमा गरिएको विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बीमा गरिएको कुखुराको बीमित मूल्य रु तीन करोड ३९ लाख ९३ हजार २०० र बङ्गुरको बीमित मूल्य रु २० लाख २८ हजार रहेको छ । त्यस्तै एक हजार २०२ गाई, ७२३ भैँसी र एक हजार ५६६ बाख्राको बीमा गरिएको छ । गाईको बीमित मूल्य रु आठ करोड ४१ लाख ४० हजार, भैँसीको बीमित मूल्य रु ४३ लाख ३८ हजार र बाख्राको बीमित मूल्य २३ लाख ४९ हजार रहेको विज्ञ केन्द्र प्रमुख डा श्रेष्ठले जानकारी दिनुभयो ।

गाईका लागि रु १० लाख ५१ हजार, भैँसीका लागि रु पाँच लाख ४२ हजार ३००, बाख्राका लागि रु २९ हजार ३६०, बङ्गुरका लागि रु २५ हजार ३५० र कुखुराका लागि रु ४२ हजार ४१५ कृषकले बेहोरेका छन् । विज्ञ केन्द्रका अनुसार गाईको प्रिमियम शुल्क रु ४२ लाख सात हजार, भैँसीको प्रिमियम शुल्क रु २१ लाख ६९ हजार, बाख्राको प्रिमियम शुल्क रु एक लाख १७ हजार ५००, बङ्गुरको प्रिमियम शुल्क रु एक लाख एक हजार ४०० र कुखुराको प्रिमियम शुल्क रु एक लाख ६९ हजार ७०० रहेको छ ।

तनहुँमा सगरमाथा, प्रुडेन्सियल र एनएलजी इन्सुरेन्स कम्पनीले पशुको पशुधन सुरक्षण (बीमा) को सुविधा प्रदान गरिरहेको छ । पशुधनको सुरक्षण गरेपछि हुने फाइदाका विषयमा पशुपालक कृषकलाई जानकारी गराउँदै यसतर्फ आकर्षित गरिएको विज्ञ केन्द्रका प्रमुख डा श्रेष्ठले बताउनुभयो ।

यद्यपि जिल्लाका कृषकले अझै पनि बीमाबारे जानकारी पाउन नसकेको गुनासो गरेका छन् । शुक्लागण्डकी नगरपालिका–७ खुर्सानीबारीका भैँसीपालक कृषक रामकली भण्डारीले आफू बीमाबारे अनभिज्ञ रहेको बताउनुभयो । उहाँले सञ्चालन गरेको भैँसी फार्ममा असार १९ गते आगलागी हुँदा ६ भैँसी र तीन वटा खरायो मरेको थियो । “बीमाबारे जानकारी नहुँदा पशुको क्षतिपछि राहत पाउन सकेको छैन”, उहाँले भन्नुभयो ।

पशुधन सुरक्षण गरेपछि पशुको मृत्यु भएमा पशुपालक कृषकले क्षतिपूर्ति दाबी गर्न सक्नेछन् । त्यसका लागि पशु मरेको १५ दिनभित्र सम्बन्धित स्थानीय सदस्य संस्थामार्फत क्षतिपूर्ति दाबी पत्र भरी दाबी गर्नुपर्ने हुन्छ । क्षतिपूर्ति दाबी गर्दा सम्पूर्ण कागजातहरु संलग्न गरी दाबी गरेमा पोलिसीमा उल्लिखित कर्जा रकमको ८० प्रतिशत रकम (सुरक्षण बराबर) सम्बन्धित पशुपालक कृषकलाई दिनुपर्ने प्रावधान रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *