समाचार
व्यास नगरपालिकाको जाँडकाण्ड : नशाले छाड्यो, आलोचनाले छाडेन !
२९ असार, काठमाडौं । तनहुँका पत्रकारले अनौपचारिक आचारसंहिता नै बनाएका छन्– सार्वजनिकस्थल र पत्रकारका रुपमा बोलाइएको समारोहमा मदिरा सेवन नगर्ने । वास्तवमा यो एक प्रकारको स्वनियमन पनि हो ।
बिहे भोजमा समेत मदिरा सेवन नगर्ने नियमनभित्र बाँधिएका तनहुँका तिनै पत्रकारलाई ब्यास नगरपालिकाले आफ्नो मदिराभोजमा सहभागी भएको भनी विज्ञप्ति जारी गरेपछि सैह्य भएन । त्यसकै परिणाम तनहुँको ब्यास नगरपालिका र नेपाल पत्रकार महासंघ तनहुँ शाखाबीच जुहारी चलेको छ ।
गत बुधवार ब्यास नगरपालिकाको ३१ औं नगरसभा सम्पन्न भएपछि करीव १५ मिनेट पत्रकार सम्मेलन भयो । त्यसपछि पत्रकारहरु मासु चिउरा खाएर निस्किए । ओल्ड दरबार र टुबोर्ग वियरका कार्टुन नगरसभा परिसरमै देखेपछि पत्रकारले हतार–हतार बाटो तताएका थिए ।
आयोजकले ‘हल्का लिएर’ जान आग्रह नगरेका पनि होइनन् । तर, सार्वजनिक सभा समारोहमा मदिरा नपिउने ‘आचारसंहिता’का कारण पत्रकारहरु निस्किए । यतिसम्म कि नगरपालिकाका प्रेस सल्लाहकार रहेका पत्रकार महासंघका पूर्वअध्यक्ष प्रदीप काफ्ले पनि मदिरा भोजमा थिएनन् ।
दश मिनेटमा सकिएको नगरसभा र १५ मिनेटमा सकिएको पत्रकार सम्मेलनपछि ब्यास नगरपालिका भवनभित्रकै हलमा मदिराका बोतल धमाधम खुल्न थाले । मेयर बैकुण्ठ न्यौपाने र प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तको उपस्थितिमा जनप्रतिनिधि र कर्मचारीहरु मदिरासँग झुम्दै नाच्न थाले ।
‘तारा संगै जून’
‘बिर्सियौ कि मायाले मैले ला’को गुन
पन्चेबाजाको धुनमा बजेको यो गीतसँगै नाचेका नगरपालिकाका प्रतिनिधिले मदिराभोजवाला भिडियो र समाचार बाहिर आएपछि उल्टै पत्रकारलाई गीतकै शैलीमा आरोप लगाए, बिर्सियौकी मायाले मैले लाको गुन । नगरपालिकाले निकालेको विज्ञप्तिमा यसबाट नगरपालिकाले आफ्ना शुभचिन्तक चिन्ने मौका पाएको भनिएको छ ।
नगरपालिकाले जारी गरेको विज्ञप्तिमा जलपान समारोहमा पत्रकार पनि सहभागी भएको भनिएपछि महासंघलाई सैह्य भएन । नगरपालिकाकै प्रेस सल्लाहकारसमेत सहभागी नरहेको भोजमा पत्रकार सहभागी भनेर डाम्ने प्रयास भएपछि महासंघ अध्यक्ष ओमकार आचार्यले विज्ञप्ति नै जारी गरी पत्रकारको आत्म सम्मानमा ठेस पुग्ने वक्तव्य सच्याउन आग्रह गरेका छन् ।

के भएको थियो ?
व्यास नगरपालिकाभित्रका वडा अध्यक्षदेखि व्यास नगरपालिकाका कर्मचारीले निर्धक्क मदिरा सेवन गरेको देखिएको थियो । उक्त कार्यको भिडियामा हेर्न सकिन्छ ।
नगरसभा सम्पन्न हुनासाथ व्यापक मदिरापान कार्यक्रम नगरपालिकाको सभाहलमा भएका थियो । जनप्रतिनिधि नै मदिरा सेवन गर्दै नगरसभा हलमा नाच्न थालेपछि अगाडि स्टेजमा बसेका नगरप्रमुख लाई समेत नचाइएको थियो ।


