समाचार
खलासी देखि उवासंघ ईटहरीका अध्यक्ष सम्म बनेका भीमबहादुर पौडेलको नालीबेली
ईटहरी । धनकुटा जिल्लाको साबिक मारेकटहरेमा ५ दशक अघि जन्मिएका पौडेल आजको दिनमा सफल ब्यबसायीको परिचय बनाईसकेका छन । धनकुटाको मारेकटहरे–२ मा जन्मेका पौडेलको गाँउमा त्यतिबेला निमावि तहसम्मको स्कुल थियो । सामान्य परिवारमा जन्मिएका पौडेल बिहान–बेलुका खेतीपाती र गोठको काममा घरमा सघाउथे । अनि पढ्नको लागी झोला बोकेर स्कुल हिन्थे । भीमले त्यसैगरी खेतीपाती र गोठको काम घरपरिवारलाइ सघाउँदै निमाविसम्म पढे । माबि स्कूल उनको गाँउमा नभएकाले धनकुटाकै बसन्तपुर बजार पुग्नुपथ्र्यो । भीम सम्झिन्छन–धेरैले निमाविसम्म पढेपछि सामान्य लेखपढ जानिहालियो भनेर खेतीपातीमै लाग्थे । तर उनी पढ्न भनेर बसन्तपुर हानिए । मारेकटहरे गाउँबाट बसन्तपुर बजार हिनेका भीमले जसो तसो ९ कक्षा पास गरेर १० कक्षामा पाइला टेके ।
सानै देखि कडा मेहनत र संघर्ष गर्न सिकेका उनलाई त्यहि मेहनतले आज सफल बनाएको छ । शुरुमा ट्रकको खलासीको रुपमा काम गरेका उनी धरान–धनकुटा सडकका विभिन्न ठाउँमा ट्रकबाट सामान लोड–अनलोड गर्दै उनी त्यही ट्रकमा बसेर ठाउँ–ठाउँमा सामान खसाउँदै तराइका समथर ठाउदेखी पहाडका डांडाकांडा पुग्थे । उनी १० कक्षा मात्र के पुगेका थिए बसन्तपुरमा कक्षा १० पढ्दा–पढ्दै स्कुल छाडेर भारतको आसाम पुगे । आसाममा उनका बडाबा गाई पाल्ने, धान खेती गर्ने गर्थे । १० कक्षा पढ्दा पढ्दै पढ्न छाडेर आसाम बरालिएका पौडेलले बडाबालाइ नै खेतीपातीमा सघाउन थाले । पढ्दा पढ्दैको ठिटो त्यसरी भागेर आसाममा काम गरिरहेको बेला एक जना ब्यक्तिले भीमलाई खुब गाली गरेछन् ।
ट्रकमा धरान–इटहरी–धनकुटा ओहोर–दोहोर गरिरहदा त्यतिबेला कैयैले होच्याउदा, गाली गर्दा, कतिले थुक्दा वास्ता नगरेका भीमका लागी त्यो गाली उत्प्रेरक नै भयो । भीमले ती ब्यक्तिको गालीलाई उत्प्रेरणाकै रूपमा लिएर नेपाल फर्के । बि सं २०४५ साल भदौमा उनी आसामबाट घर आए । आसाममा उनी पाँच महिना जति मात्र भौतारिएछन । १० कक्षा पढ्दा पढ्दै पाँच महिना छुटेको पढाइलाई निरन्तरता दिने अठोट गरे । बिचमा छाडेको पढाइलाइ उनले निरन्तरता दिदै गए । पढाइमा लगनशिल भएर लागे । केही महिनापछी एसएलसी परिक्षामा सहभागी हुने बेला आयो ।
त्यो २०४५ सालकै कुरा हो । त्यतिबेला एसएलसीको ठुलो महत्त्व थियो । एसएलसी पास गर्ने मान्छे गाउको ठुलो मान्छे कहलिन्थ्यो । भीमका अनुसार एसएलसी दिएपछि जागिर पाउन त्यति कठिन हुदैनथ्यो । एसएलसी दिएपछी उनले छिमेकी दाइ लोकेन्द्र रायमाझीलाइ जागिर खोजिदिन गुहारे । भीमका लागी जागिरको पहल गरेका लोकेन्द्रकै सिफारिसमा त्यसबेलाका स्वास्थ्यका निर्देशक कल्याणविक्रम पाण्डेले भीमलाइ जागिर दिए । स्वास्थ्यको सामान्य जागिरका लागि भीम ताप्लेजुङको हाम्पाङ हानिए । जागिर खान त्यहा पुगेका भीमले काम थालेको पाँच महिना पछि उनको बिवाह भयो । लीलामाया बिष्टसँग विवाह भएपछी उनले जागिर छोडे । त्यसपछी उनी जागिर छाडेर फेरि बसन्तपुर नै फर्किए ।जागिर छाडेर आइसकेपछि बसन्तपुरमै रहेका श्रीमती लीलामायाका नातेदार रूपनारायण प्रसाईसंग भीमले ब्यापार गर्छु भनेछन । तर ब्यापार गर्न भीमसंग पैसा रहेनछ ।

जागिर खाँदाको पैसा पनि बिवाहमा सकेका भीमले आठ–दस हजार रूपैयाँको जोहो गर्न सक्ने प्रसाइलाइ सुनाए । आफूसँग भएको केही र साथीसँग सापटी मागेर लिएर १० हजार रूपैयाँ भीमले जुटाए । त्यही पैसाबाट रूपनारायणसँगको साझेदारीमा २०४६ साल माघदेखि उनले नुन व्यापारको काम थाले । १० हजार रुपैया लगानी गर्दा उनलाई रूपनारायणले २५ प्रतिशत सेयरको कागज गरिदिएको भीम सम्झिन्छन । साल्ट ट्रेडिङको डिलरमा १० हजार लगानी गरेर २५ प्रतिशत सेयर लिएर व्यापार थालेका उनी १७ घण्टासम्म काम गर्थे । साल्ट ट्रेडिङको डिलर भएपनि सबै किसिमका सामान बेच्ने किराना पसल नै थियो । उनी बिहानदेखि रातिसम्म काम गर्थे । निरन्तर यसरी काम गरेर उनले तीन वर्षपछी २०४९ सालमा डिलरको सेयर ५० प्रतिशत बनाए । रूपनारायणले भीमको मिहिनेत देखेर आफैँ सेयर बढाइदिएको उनी सम्झिन्छन । सेयर बढेपछि उनी झन् उत्साहित भएर मिहिनेत गर्न थाले । यो क्रम ४ बर्ष सम्म चल्यो । त्यसपछि व्यापारमा मन्दी आउन थाल्यो । त्यसैले बसन्तपुरको व्यापार छाडेर दुवै जनाले विराटनगर गएर काम गर्ने योजना बनाए । विराटनगर पुगेपछि रूपनारायण र भीम अलग अलग भएर काम गर्ने निर्णय गरे । व्यापारिक सहकार्य टुटेपछि दुबै जनाले व्यापार गर्दाको नौ लाख रुपियाँ बराबरी बाँडे । पैसा पाए पनि भीमले व्यापार पाएनन् । त्यतिबेला साल्ट ट्रेडिङको डिलर लिन कठिन थियो । भीमले बसन्तपुरमा व्यापार गर्ने सिलसिलामै चिनेका रामप्रसाद खतिवडा मोरङका सिडियो थिए । खतिवडाले भीमलाइ साल्ट ट्रेडिङको विराटनगरमै डिलर मिलाइ दिए । पौडेलले विराटनगरमै नुन बेच्न थाले । तर, कारोबार बसन्तपुरको जस्तो भएन ।
करिब डेड वर्ष व्यापार गर्दा पनि खासै उन्नति नभएपछी भीमले इटहरी आउने योजना बनाए । विराटनगरमा हँुदा पाथीभरा ढुवानी समेत चलाएका उनी २०५४ सालमा इटहरी आए । इटहरी आएका उनले अर्का ब्यवशायी रमेश पौडेलसँगको साझेदारीमा पाथीभरा ढुवानी र साल्ट ट्रेडिङको डिलर चलाउन थाले । डेड वर्ष जति यो काम गरे पनि सोचे जस्तो सफलता हात नलागेन भीम सुनाउछन । २०४६ सालमा रूपनारायणसँग साझेदारी गरेर बसन्तपुरमा साल्ट ट्रेडिङको डिलरबाट व्यापार थालेका भीमले १० वर्षपछि २०५६ सालमा रमेश पौडेलसँगको साझेदारी पनि छोडे । इटहरीमा उनी एक्लै डिलर गर्न थाले । विराटनगर र इटहरीको व्यापारमा सोचे जस्तो उन्नति नभएपछि साझेदारीबाट अलग्गिएका भीम साझेदारी छोडेर एक्लै काम गर्न थालेको त्यही समय उनको जीवनको टर्निङ प्वाइन्ट बन्यो ।
२०६० सालदेखि ठेक्का–पट्टाको काममा पनि हात हाले । क्रसर उद्योग समेत सुरु गरेका उनले ढुवानी व्यवसायलाई बढाउँदै लगे । ढुवानीका लागि आवश्यक ट्रक र टीपरहरू किन्दै गए । सुरुमा ब्यापार ब्यवशायबाट आशातित प्रगती गर्न नसकेका उनले पछिल्लो समय गरेका हरेक व्यवसायले प्रतिफल दिँदै गयो । लाउलाउ खाउखाउ भन्ने उमेरमा भाडाको ट्रकमा हिँड्ने उनी आफ्नै महँगो कार चढ्ने भए । १० हजार लगानी गरेर २०४६ सालमा नुनबाट सुरु भएको पौडेलको व्यापारले कोल्टे फेर्यो । उनको आम्दानी बढ्दै गयो । अहिले पौडेलका ५० भन्दा बढी टिप्पर र एक दर्जन जति निजी गाडी सडकमा गुडिरहेका छन् । इटहरीमा केही व्यवसायीसँग मिलेर थ्री–स्टार होटल बनाएका छन । पूर्वका बिभिन्न ठाउमा क्रसर उद्योग चलाइरहेका छन । बिभिन्न शैक्षिक संस्थामा समेत लगानी गरिरहेका छन । यी सबै ठाउमा गरी उनले हजार बढीलाइ रोजगारी दिएका छन । निरन्तर संघर्षले छोटो समयमा यति धेरै उन्नति गरेका पौडेल आम युवा पुस्ताको लागी प्रेरणाको श्रोत भएका छन । उद्योग बाणिज्य संघ ईटहरीको सदस्य समेत रहेका पौडेलले अध्यक्षमा उम्मेदवारी दिएपछि धेरैले उनलाई साथ दिए । सोही कारण उनी अध्यक्षमा निर्बाचित भएका छन ।


