समाचार
घण्टाघर कसको ?
काठमाडौं / राणा प्रधानमन्त्री वीरशमशेरले १८७५ सालमा घण्टाघर बनाए र सुरु भयो–त्यस घरको घडीले १२ बज्दा बाह्रपल्ट ’टिङटिङ टिङटिङ’ गरेपछि टुँडिखेलमा सेनाले तोप पडकाएर १२ बजेको जनाउ दिने चलन । त्यतिबेला समय सूचकको एक मात्र पर्याय बनेको ऐतिहासिक र पुरातात्विक महत्वको घण्टाघरको आवाज सुनेरै तोप पडकाउने चलनले ०५२ सालसम्म निरन्तरता पायो ।त्यसपछि तोप पडकाउन बन्द भए पनि ‘टिङटिङ टिङटिङ’ गर्ने घडीलाई बन्द हुन दिएका छैनन् गणेश सापकोटाले, जो ३२ वर्षदेखि यही घडीको रेखदेखमा छन् । उनको अवकाशसँगै ५ वर्षपछि यो घडी चुस्त दुरुस्त राख्न सक्ने दक्ष जनशक्ति अरू भेट्न मुस्किल छ ।
लामो कालखण्ड काठमाडौंवासीले घण्टाघरको घडीअनुसारै आफ्नो समय व्यवस्थापन गर्थे । बिस्तारै प्रविधिले फडको मार्दै गएपछि घण्टाघरको आवश्यकता अनिवार्य बनेन । अहिले पनि समयको जनाउ दिइरहने घण्टा घरको घडीमा सायदै कसैको ध्यान जान्छ । न कसैले कति बज्यो भनेर घण्टाघरको सुईमा आँखा लगाउँछन् । हात–हातमा स्मार्टफोन छ, समय जान्न घण्टाघरै हेर्नुपर्ने अवस्था रहेन ।


यसले सही समय दिएको छ–छैन भनेर चासो राख्नेहरू पनि सायदै कोही छन् । कुनै बेला प्रतिष्ठित भवनका रूपमा रहेको घण्टाघर स्याहार र संरक्षण अभावमा जीर्ण छ । भवनको सरसफाइ, मर्मत सम्भार र जीर्णोद्धारमा कसैको ध्यान गएको छैन । कुनै पनि निकायले यसको जिम्मेवारी नलिँदा ऐतिहासिक महत्वको घण्टाघर बेवारिसे बनेको सापकोटाको भनाइ छ । ’आजसम्म घण्टाघर हाम्रो अन्तर्गत हो भन्ने कोही आएका छैनन्,’ उनले भने ।
घण्टाघर संरक्षणका लागि न काठमाडौं महानगरपालिकाले ध्यान दिएको छ, न त पुरातत्व विभागले नै । घडी र प्राविधिक पाटोमा समस्या नरहेको उनी बताउँछन् । समय समयमा फलामे दाँतीमा समस्या देखिने गरे पनि आफूले घडीलाई चुस्त राखेको उनको दाबी छ ।
आफ्नो कार्यकालपछि घडी कसले चलाउँला भन्नेमा उनको चिन्ता छ । बन्द भएको घडीलाई २०४४ सालदेखि एक्लैले चलाउँदै आएको उनले बताए । ‘पाँच वर्षपछि मेरो अवकाश पाएपछि घडी चलाइराख्ने जनशक्ति रहने छैन,’ उनले भने, ‘कुनै जिम्मेवार निकायले कोही ल्याएर सिकाउने जिम्मा मलाई दिए, म सिकाई दिन्थें ।’
आफ्नो कार्यकालपछि घडी संग्रहालयमा जाने हो कि भन्ने चिन्ता रहेको उनको भनाइ छ । घण्टाघरमा सोलार घडी समेत छ । ‘सोलार घडी संसारका केही देशमा मात्र छन्, उबेलामा नेपालमा पनि ल्याइएको रहेछ,’ उनले भने, ’छायाँ हेरेर समय बताउँछ यो घडीले । तर त्यो हेर्ने मान्छे, त्यति बेला पनि भेटिएनन् । मैले पनि जानेको छैन ।’ घण्टाघरमा २०३८ सालको आगलागीपछि घडीले समय दिन सकेको थिएन । २०४४ सालमा काठमाडौंमा दोस्रो सार्क सम्मेलन हुने भएपछि भने घडी मर्मतको आवश्यकता देखी प्राविधिक खोजी सुरु भएको थियो ।
त्यति बेला दक्ष जनशक्ति नभेटिएपछि त्रिचन्द क्याम्पसमै प्राविधिकका रूपमा काम गर्दै आएका सापकोटाले १३ दिन घण्टाघरमै बसेर अध्ययन गरी घडी चलाइरहेका छन् । ‘जति आधुनिकता र नयाँ प्रविधिको विकास हुँदै गएको छ, घण्टाघरको ऐतिहासिक महत्व झनै बढदै छ,’ उनले भने ।
त्रिचन्द्र क्याम्पस परिसरमा रहेकाले मर्मत खर्च क्याम्पसले दिन थालेको उनले बताए । घण्टाघर क्याम्पस परिसरमै रहेकाले यसको स्याहारसम्भार पनि क्याम्पसकै जिम्मा हुने विभागका प्रवक्ता रामबहादुर कुँवरले बताए । ‘भवन भत्किएर पुनर्निर्माण गर्नुपर्ने हो भने मात्र पुरातत्त्व विभागले जिम्मा लिने हो,’ उनले भने । काठमाडौं महानगरअन्तर्गत सम्पदा विभाग पनि घण्टाघर पुरातत्वको जिम्मामा रहेको भन्दै पन्छिएको छ । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।