समाचार

प्राणघातक अकुलर ट्युमरले सताउँदै बालबच्चा

गर्भावस्थामा अनावश्यक औषधि सेवन नगर्न सुझाव
ताप्लेजुङ– जन्मँदै आँखामा अकुलर ट्युमरको समस्या देखा पर्न थालेपछि आँखा प्राविधिकले गर्भावस्थामा अनावश्यक औषधि सेवन नगर्न सुझाएका छन्।

जानकारहरूका अनुसार अकुलर ट्युमर यस्तो घातक हुन्छ कि, त्यो ट्युमरको बेलैमा शल्यक्रिया गर्दा पनि ट्युमर देखिएको आँखाको ज्योति गुम्छ भने शल्यक्रिया र उपचारको अभावमा मानिसको मृत्यु नै हुन्छ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नं ३ हाङ्पाङका कृष्ण र गंगा गुरुङकोे बच्चाको आँखामा यस्तै ट्युमर फेला परेपछि नेत्रकर्मीहरूबीच यस्तो रोग देखा नपर्ने उपायका बारेमा बहस सुरु भएको छ। नेपाल नेत्र ज्योति संघ/डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजी गुरुङका अनुसार यस्तो रोग लाग्नुको मुख्य कारण गर्भावस्थामा आमाले अनावश्यक औषधि सेवन गर्नु हो। उनले ट्युमर नसासम्बन्धी रोग भएको र गर्भावस्थामा चिकित्सकको परामर्श बेगर अनावश्यक औषधि र खानपिनका कारण यस्तो समस्या आउने बताए।

दुई दशकभन्दा बढी समय आँखाको क्षेत्रमा खर्चिएका गुरुङले यस्तो रोगी आफूले पहिलोपटक फेला पारेको जानकारी दिए। अवस्था जटिल देखेका उनले नेत्र ज्योति संघमार्फत सञ्चालित इटहरी आँखा अस्पतालका डाक्टर ईशा कार्कीसँग परामर्श गरे। ‘दुई दिने बच्चाको आँखाको ट्युमर बाहिर निस्किएको छ, यो बेला उसलाई छिटो उपचार गराउनुबाहेक अर्को विकल्प थिएन’,गुरुङले भने। जन्मिएको दोस्रो दिन डिचेन डोङ्ला ल्याइएको बच्चालाई पहिले नसा विशेषज्ञबाट परीक्षणपछि मात्र शल्यक्रियाका लागि रेफर गरिएको उनले जानकारी दिए। यस्तो अवस्था आइसकेपछि बच्चाको ट्युमर देखापरेको आँखाको ज्योति गुम्ने उनले बताए। घातक मानिएको यो रोगको उपचार तत्काल हुन नसके यसले माानिसकै ज्यान लिने गुरुङको भनाइ छ।

आँखा प्राविधिक काजी थेबेका अनुसार गर्भावस्थामा पोसिलो खानेकुराको अभाव र अनावश्यक औषधि तथा सुख्खा खानाले समेत यस्ता रोग निम्त्याउन सहयोगी भूमिका खेल्छ। उनले आँखाको ज्योति उज्ज्वल बनाउने हो भने गर्भावस्थामा यस्ता कमजोरी दोहोरिन दिन नहुने बताए। चिकित्सकको परामर्श बेगर विभिन्न प्रकृतिका औषधिजन्य पदार्थको सेवन यो रोगको मुख्य कारण रहेकोले यसबाट टाढै बस्न उनले सुझाव दिएका छन्। थेबेका अनुसार यस्तो रोग जन्मँदै देखापरेमा गर्भावस्थामा आमाले गर्ने हेलचेक्र्याइँलाई मुख्य कारण मान्न सकिन्छ। उनले सजगता अपनाउन र संवेदनशील मानिएको आँखाको ज्योति जन्मँदै गुम्ने अवस्थाबाट मुक्त हुन विशेष ध्यान दिनुपर्ने सुझाएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close