uncategorized

गोखुङ्गामा खानेपानीको हाहाकार, एक गाग्रीका लागि एक सातापछि पालो Read

पाल्पा : रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको गोखुङ्गा पँधेरामा स्थानीयवासीले एक गाग्रीको पानीका लागि एक साता पालो कुर्नुपर्ने बाध्यता रहेको छ। सुख्खा मौसम र गर्मी बढेपछि खानेपानीका मुहान सुकेर यहाँका बासिन्दाले सातामा एक घरले एक गाग्री खानेपानी पाउने गरेको स्थानीय तथा वडा सदस्य रमा नेपालीले बताइन्।  पश्चिम पाल्पामा रहेको गोखुङ्गामा ६० घर दलित बस्ती छ। दलित बस्तीले उपभोग गर्ने खानेपानीको मुहान एउटा मात्र रहेको छ। वर्षात् पानी सङ्कलनका लागि सबैका घरमा घैँटा छन्। तर, यसपालिका घैँटाका पानी माघ÷फागुनमा सकिएपछि खानेपानीको पिरलोमा स्थानीय दिनरात कटाउन बाध्य छन्। यसपटक प्रशस्त वर्षात् हुन नसकेकाले आकाशेपानी सकिएपछि यहाँका दलित समुदायमा पानीका लागि मुहानको खोजीमा दिनभर खर्चिन बाध्य हुनुपरेको गुनासो उनीहरुको छ। रैनादेवी छहरा गाउँ कार्यापालिका सदस्य तथा स्थानीय गोपाल परियारका अनुसार  पानी समस्या बढेपछि  दिनरात पानीको मुहानमा बिताउनु परेको छ। सातामा एक गाग्री पानीले परिवारका लागि अपुग हुने भएपछि यहाँका स्थानीय तीन घण्टा लगाएर एक गाग्री पानी बोकेर ल्याउन बाध्य बनेका छन्। बिहान ५ बजे पानी ल्याउनका लागि हिँडेका पधेरीहरु ८ बजेतिर घरमा पाइला टेक्छन्। ‘पानीका मुहान रहेका क्षेत्रहरु पानी बोकेर फर्किँदा उकालो हिँड्नुपर्छ,’ परियाले भने, ‘भुवनपोखरीको कमेरे, मेहालपानी, सिमलडाँडा, खानतुङलगायतका स्थानबाट पानी ल्याउनुपर्छ।’ पानीका कारण बालबालिका नियमित विद्यालय जाने अवसरबाट बञ्चित हुनुपरेको स्थानीय बासिन्दाको गुनासो रहेको छ। डाँडामा बस्ती रहेकाले पानीको समस्या वर्षौदेखि रहे पनि यहाँको खानेपानीको समाधानमा कसैको चासो नपुग्दा समस्या हटेको छैन। यो बस्तीलाई लक्षित गरी आरखोला, रैनादेवी, दलित बस्ती खानेपानी आयोजनाको काम सञ्चालनमा आएको छ। आयोजनाको काम निकै सुस्तगतिमा हुँदा उपभोक्ताले खानेपानीका लागि हैरानी भोग्न बाध्य छन्। 
Read more at: 4

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *