uncategorized

सिसी टिभी जडानले आपराधिक घटना कम

तनहुँको डुम्रे बजारमा आपराधिक घटनामा कमी आएको छ । डुम्रे बजार क्षेत्र र आसपासमा सिसी टिभी जडान पश्चात आपराधिक क्रियाकलापमा संलग्न व्यक्ति पक्राउ पर्न थालेपछि अपराध कम हुँदै गएको हो । सवारी साधनको अत्यधिक चाप हुने यस बजारमा चालकहरु पनि दुर्घटना पछि भाग्न सकेका छैनन् । डुम्रेमा यस्ता घटना न्यून मात्रै भएको छैन धेरै जसो दोषी प्रहरीको फन्दामा परेका छन् ।

आपराधिक घटनामा कमि आउने तथा दोषीको उम्कने प्रयास विफल हुन थाले पछि डुम्रे बजारवासीमा खुशी छाएको छ । करिब तीन महिना अघि तनहुँ उद्योग वाणिज्य सङ्घ डुम्रे बजार इकाई र इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेको सक्रियतामा बजार क्यामेराको निगरानी राखिएको हो ।सिसी टिभी फुटेजको आधारमा फागुन १९ गते पिक्तललाई सुन भनेर तनहुँको सदरमुकाम दमौली र गण्डकी प्रदेशको राजधानी पोखरामा ठग्ने एक जना महिलालाई प्रहरीले पक्रन सफल भएको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका प्रमुखप्रहरी निरीक्षक निरज डाँगीले बताउनुभयो ।

डुम्रे बजारबाट शङ्कास्पद महिलाको फुटेज पोखरा पठायौं त्यसकै आधारमा पोखरामा प्रहरीले महिलालाई नियन्त्रणमा लिन सफल भयो’ प्रहरी निरीक्षक डाँगीले भन्नुभयो–क्यामेरा राखेपछि चोरी, डकैती लागु औषध जस्ता आपराधिक घटना ९० प्रतिशत कम भएको छ । चैत्र ९ गते आँबुखैरेनी गाउँपालिका–२ बराँदीमा यात्रुवसबाट ल्यापटप चोरी गरी भाग्ने एक जना पुरुषलाई पनि क्यामेराकै आधारमा पक्रन सफल भएको प्रहरी निरीक्षक डाँगीले जानकारी दिनुभयो । डाँगीका अनुसार विभिन्न दुर्घटनाको तीन जना चालकले क्यामेराको प्रमाण पेस गरेपछि दोष स्वीकार गरेका छन् ।

क्यामेराको निगरानीमा छ भन्ने कुरा चाल पाएकोले दुर्घटना पछि एक जना चालक पनि नभागेको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेले जनाएको छ । चोरी लगायतका घटनामा पनि धेरै कमी आएकोले व्यापारीले सुरक्षित महशुस गरी खुशी भएको तनहुँ उद्योग वाणिज्य सङ्घ डुम्रे बजार इकाईका अध्यक्ष नेक महम्मद मियाले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *