समाचार
सर्पदंशका बिरामी बढे
विराटनगर / गर्मी मौसमसँगै विराटनगरको कोसी अस्पतालमा सर्पदंशका बिरामीको संख्या बढेको छ । सर्पको टोकाइबाट घाइते भएर उपचारका लागि आउनेको संख्या बढेको हो ।
अस्पतालस्थित आपतकालिन सेवाका जनस्वास्थ्य अधिकृत रघुनन्दन अधिकारीका अनुसार पछिल्लोसमय दैनिक ५ देखि ८ जनासम्म सर्पको टोकाइका बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् । जसमा बालबालिका र बृद्धको संख्या बढि रहेको छ । हाल सर्पदंशको उपचारका लागि आवश्यकीय औषधी एन्टी स्नेक भेनम औषधी भने अस्पतालमा पर्याप्त रहेको अधिकृत अधिकारीले जानकारी दिए ।

अस्पतालमा अधिकांश ग्रामीण क्षेत्रबाट उपचारका लागि बिरामी आउने गरेको बताइएको छ । सर्पको टोकाइबाट बच्न गर्मीयाममा जंगल, बाक्लो झारी तथा अँध्यारोमा नहिड्न चिकित्सकहरुको सुझाव छ । त्यसैगरि, सर्पका विषयमा दख्खल राख्ने गरेका पूर्व प्रहरी प्रेम विष्टले सर्पको विगबिगीबाट जोगिन घरवरिपरि देखिएका प्वाल पुर्ने, सरसफाइ राख्ने, धेरै बाक्लो घाँस काँटछाँट गर्नु पर्ने बताए ।
