समाचार
चोरीको भिडियो हुँदा हुँदै पनि चोरलाई समात्न सक्दैन प्रहरी !
काठमाडौं। सशस्त्र प्रहरी अस्पतालमा कार्यरत प्रहरी निरीक्षक डा.राज्य खड्काको महत्वपूर्ण सामानसहितको झोला बैशाख १४ गते बौद्धबाट चोरी भयो। गोकर्णेश्वर यातायातको २५६८ नम्बरको बसमा साँखुबाट रत्नपार्क जानेक्रममा बौद्ध क्षेत्रमा आउँदा उनको ब्याग थियो । तरु हेर्दा हेर्दै एक व्यक्ति उनको झोला बोकेर भाग्छन् । उक्त दृश्य सीसी क्यामेरामा कैद हुन्छ । सीसीटिभी फुटेजमा चोरले उनको झोला बाकेर भित्री गल्ली–गल्ली भागेको दृश्य छ ।
डा. खड्काका बाबु मधुसुधन खड्काका अनुसार झोला भित्र महत्वपूर्ण कागजातसहित ल्यापटप, क्यामरा र हार्ड ड्राइभ थियो । उनका अनुसार चोरी भएकै दिन गाडी नम्बरसहित बौद्ध प्रहरीमा उजुरी गर्न जाँदा प्रहरीले उजुरी लिन नमानेपछि भोलिपल्ट मात्रै उजुरी दर्ता भएको थियो । यसपछि सवारी चालक र सहचालकलाई बोलाएर सोधपुछ बाहेक थप केही नभएको खड्का बताउछन् । उनकी छोरीसँग दुई ओटा झोला भएपछि सहचालकले आँफै मागेर गाडीको ¥याकमा राखिदिएका थिए ।
खड्का फोनमा बोल्दै गर्दा एक व्यक्तिले उनको ब्याग लिएर टाप कसे । तत्कालै चोरलाई पिछा गरेपनि एकै छिन् चोर गाएब भयो । सीसीटिभी फुटेजमा चोरको हुलिया स्पष्ट देखिँदा पनि चोरी भएको २ सातासम्म पनि चोर पत्ता लागेको छैन । यो घटना प्रतिनिधि पात्र मात्रै हो । यस्तै घटनालाई मध्यनजर गर्दै चोक–चोकमा राखिएका सीसी क्यामेरामा कैद भएको चोर समेत पक्राउ नपर्नुले सुरक्षामा गम्भीर चुनौती देखाएको छ ।



