रौतहटमा दुई वर्षमा ५ एस्क्याभेटरमा आगजनी : दोषीलाई हुन सकेन कारबाही

अ+
अ
अ-

रौतहटमा गत दुई वर्षमा ५ ओटा एस्क्याभेटरलगायत निर्माण उपकरणमा आगजनी भएको छ । विकास निर्माणका कार्यमा प्रयोग भइरहेको अवस्थामा एस्क्याभेटरमा आगजनी हुने गरेको छ । सडक तथा पुललगायतका संरचना बनाउन प्रयोगमा आएका एस्क्याभेटर आगजनी भए पनि दोषीलाई प्रहरीले पक्राउ गर्न नसकेको निर्माण व्यवसायीको गुनासो छ । २०७४ मा मात्र ३ ओटा निर्माण उपकरणमा अज्ञात समूहले आगजनी गरी क्षति पु¥याएको थियो । २०७४ वैशाखमा चन्द्रपुरस्थित गैंडाटारको चाँदी नदीमा पुल निर्माणमा प्रयोग भएको शिवशंकर कन्स्ट्रक्शनको एस्क्याभेटरमा आगजनी भएको थियो । त्यसपछि पुस १६ गते मौलापुरमा जीएस साह जेबीको रोलर तथा चैत ५ गते गरुडामा सडक डिभिजनको एस्क्याभेटरमा आगजनी भएको थियो । आगजनी कसले गरेको भन्ने विषयमा प्रहरीले अनुसन्धान थाले पनि दोषी पक्राउ पर्न सकेको छैन । २०७५ मा भने दुईओटा एस्क्याभेटरमा आगजनी भएको थियो । वैशाख २० गते रौतहट र सर्लाहीको सिमनामा पर्ने बाग्मती नदीमा व्यक्तिगत एस्क्याभेटरमा आगजनी भएको थियो भने त्यसलगत्तै वैशाख २६ गते रौतहटको गुजरा खतवैयामा एस्क्याभेटरमा आगजनी भएको थियो ।

रमन, सगरमाथा र सगुनले सडक निर्माणको जिम्मा पाएको र निर्माणमा प्रयोग भएकोे अवस्थामा एस्क्याभेटर आगजनी भएको थियो । निर्माण उपकरणमा आगजनी गर्नेहरूको अनुसन्धान गरी खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ । तर, आगजनी गर्ने कोही पनि पक्राउ नपरेको प्रहरीले बताएको छ ।

काम गर्ने सहज वातावरण नहुँदा समस्या भएको निर्माण व्यवसायी संघ रौतहटका पूर्वअध्यक्ष नागेन्द्र साहले बताए । संरचना निर्माणको जिम्मा पाए पनि अज्ञात समूहले उपकरणमा आगजनी गर्ने तथा केहीले विभिन्न बहानाले निर्माणमा अवरोध पु¥याउने लगायतका कार्यले गर्दा निर्माण व्यवसायी मारमा परेको उनले बताए ।