‘बच्चालाई दुई पांग्रेमा राख्दा अनिवार्य हेल्मेट, पञ्जा र ज्याकेट लगाउनै पर्ने नियम राखौं’

अ+
अ
अ-

मोटर साइकलमा पछाडि बस्नेले पनि हेल्मेट लगाउन पर्ने नियम ल्याउन लागेसँगै यो बिषयले केही दिन देखि चर्चा पाएको छ । राज्यले नागरिकको सुरक्षामा ध्यान दिनुपर्छ । तर पछाडि बस्नेले हेलमेट लगाउनै पर्ने नियम नागरिकको सुरक्षाको लागि आएको हो कि कमिशनको सुरक्षाको लागि आएको हो ? भन्ने कुरामा आज भरपुर शंका गर्दै केही जिज्ञासा समेत राखाँै ।

बाटोमा हिड्ने गुड्ने नागरिकको सुरक्षालाई मध्येनजरमा राखेको हो भने हेलमेटसँगै धेरै कुराहरुको सम्बोधन हुन जरुरी छ । जनताले अनिवार्य रुपमा खरिद गर्नुपर्ने बिषय पहिला लादेर अरु संवेदनशिल कुरामा मौन बस्न पाइदैन । पछाडि बस्नेले आफ्नो सुरक्षाको लागि हेलमेट अहिले देखिनै लगाए हुन्छ, सरकारको उर्दी कुर्नै पर्दैन । नागरिकको यात्रा सुरक्षित हुनु पर्ने कुरामा विवाद रहेन तर, सुरक्षासँगै हेलेमेट मात्र जोडिएको छैन ।

बाटोको खाल्डा–खुल्डी, रातिको समय सडक बत्ति नुहुनु, भएका सडक बत्ति पनि खाली पोलमा विज्ञापन राख्न मात्र प्रयोग भए जस्तो बत्तिको उज्यालो एक थोपा नहुनु जस्तो समस्याको समाधान पहिला र सँग–सँगै हुन जरुरी छ । यी समस्याको समाधान हुदाँ नागरिकको पैसा खर्च हुँदैन तर, हेल्मेट पहिला किनाइ हाल्ने र सुरक्षाका अन्य विषयमा मौन बस्नुले शंका गर्ने ठाँउ दिएको छ ।

तथ्याङकका अनुसार आर्थिक बर्ष २०७४÷७५ सम्ममा २५ लाख ३० हजार ७ सय २२ वटा दुई पांग्रे सवारी दर्ता भएका छन् । पछिल्लो १० महिनामा करिब २ लाख थपिए होलान् । यस हिसाबले करीब २७ लाख मोटरसाइकल र स्कुटर दर्ता छन् । यदि पछाडि बस्नेले हेल्मेट लगाउनै पर्ने नियम आयो भने लाखौँ हेल्मेट विक्री हुन्छन् । ट्राफिक प्रहरीको कार्यालयले जानकारी गराए अनुसारको गुणस्तरिय हेल्मेट खरिद गर्दा लगभगएउटा हेल्मेटको मूल्य ३५ सय देखि ५ हजारसम्म पर्ने भो । २७ लाख हेल्मेट विक्री हुँदा त करिब १२ अर्बको कारोबार हुने देखिन्छ ।

हेल्मेट व्यापारीले पैसा कमाउने भए भनेर चिन्ता विलकुल गरेको होइन । सारा व्यापारीले कमाउन हुने, हेल्मेट व्यापारीले कमाउन नहुने भन्ने त प्रश्न नै उठ्दैन । तर दुई पांग्रेमा सवारको सुरक्षाका लागि गरिनुपर्ने अन्य धेरै काम छन् तिनलाई यथावत् राखेर दुई पांग्रे धनिहरुको पैसा खर्च हुने हेलमेट खरिदलाई प्र्राथमिकता दिनु शंकास्पद नै छ ।

कुनै पनि नियम ल्याउदा प्रसस्त अध्ययन सर्बे गरेर ल्याउन सके त्यो दुरगामी हन्छ । सडकको हालत, चेतनाको स्तर, ट्राफिक प्रहरीहरुको व्यवस्थापन, सडकमा राखिने साइन, बत्ति आदिको स्थिति, आदि सबै हेरेर, अध्ययन गरेर नियम ल्याएको भए नियम टिक्छ । नत्र हेल्मेट मात्रै बिक्छ ।
सुरक्षाको मामलामा पैसाको कुरा आउँदैन तर एउटै मात्र बिषयलाई जोडेर अन्य बिषयमा मौन बस्नु अनुपयुक्त मात्रै होइन कतै कमिशनकै खेल चल्दै छ कि ? भनेर शंका गर्नै पर्ने हुन्छ । अब कुरा आयो ब्राण्डेड हेल्मेटको ।

नक्कली गुणस्तर चिन्ह लगाएर ब्राण्डेड हेल्मेटको कपि हेल्मेट अझै बजारमा प्रस्तत छन् । सक्कली ब्राण्डेड हेलमेट आयातकर्ता नेपाली व्यापारीहरुलाई यहाँ पनि मार पर्न सक्छ । भन्सार छलेर ल्याइने यस्ता कपि हेलमेट नहुनु भन्दा केही हुनु जाति भने जस्तो मात्रै हो । त्यसैले यो नियम लागू गर्नु अघि हेलमेटको गुणस्तर नाप्ने संयन्त्र चाहिन्छ ।

पछाडि बस्नेले हेलमेट लगाउनु पर्ने नियमको विरोध गरेको होइन तर, यो नियम ल्याउनु पूर्व विचार गर्नु पर्ने अन्य विषयहरुको जवाफ चाँही अवस्य चाहिन्छ । स्ीिड लिमिटको, लेन सिष्टमको र ओभरटेक गर्ने÷नगर्ने नियमको पूर्ण पालना भएको छ ? जेव्रा क्रस बाटो काट्नको लागि हो तर जेव्राक्रसमा यदि सडक बत्ति छैन भने पैदल यात्रीले पाइला टेक्ने वित्तिकै सारा सवारी रोकिनै पर्छ । बाघ मारुला झैं रन्किएर आएको बाइक, जेब्रा क्रसमा मान्छे देख्दा रोकिन्छ ? एउटा हातले फोन समातेर र अर्को हातले बाइकको कान निमोठ्नेहरुलाई तिराउने जरिवाना दोब्बर तेब्बर गराउन सकिन्छ ? पछाडि बस्नेले हेल्मेट त परै जाओस् अगाडि बस्ने हिरो हिरालाल यहाँ लगाउनु पर्ने हेल्मेट यहाँ अड्याउँछ । त्यसको च्यापु फुक्लिनु अगाडि नै यस्तो गर्न रोक्ने कडा नियम ल्याउन पहल गर्नु पर्दैन ?

त्यो भन्दा पनि महत्वपूर्ण कुरा, करिब ३ बर्ष उमेर देखिका स–साना बालबालिकालाई मोटरसाइकलको अगाडि लुकिङ ग्लासको डण्डीमा समाउन लगाएर ट्याक्की माथी राखेर लगिन्छ । हरेक बाबु आमालाई सोध्नुस् कि तपाई आफ्नो सन्तानलाई कति माया गर्नुहुन्छ ?

सबले भन्छन् आँफूभन्दा धेरै गर्छौ । तर यो सब झुठ हो । माया गर्ने बाबुले आँफू हेलमेट, ज्याकेट पन्जा लगाएर आफ्नो बच्चालाई विना हेल्मेट विना पञ्जा, विना चस्मा अगाडि राखेर बाइक चलाउँछ ?  बच्चाको कलिलो छातिले बाउको छिप्पिएको छातिमा हावा छेक्छ । जति ध्यानले चलाएपनि दुर्घटना अरुले गर्दा पनि हुन सक्छ । त्यो बाइक पल्टिदाँ हेल्मेट लगाएका बाउको टाउको फुट्छ कि बच्चाको कलिलो टाउको ?

गैडाको जस्तो बाक्लो छाला र जिन्स लगाएको बाउको घुँडा त दर्फराउँदा पनि दर्फराउँदैन होला तर बच्चाको कमलो घुँडा त फुक्लिन्छ, आँखामा किरा छिर्छ । पछाडि बस्ने एडल्टहरुको चिन्ता गर्नेले, अगाडि बस्ने स–साना बालबालिकाको चिन्ता गर्नु् पर्दैन ?

बालबालिकाको सुरक्षाका लागि आजैबाट अहिलेबाट बच्चालाई दुई पांग्रेमा राख्दा अनिवार्य हेल्मेट, पञ्जा, ज्याकेट, चश्मा लगाउनै पर्ने नियम राखाँै । प्राथमिकता यो हो, त्यसपछि पछाडि बस्नेलाई हेल्मेट, डोरी, छाता, रेनकोट जे–जे चाहिने हो त्यही त्यही अनिवार्य गरौंला ।