पाँचथर घटनाबारे गृहमन्त्रीको सदनलाई जवाफ, खास यसरी घटेको रहेको घटना

अ+
अ
अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले पाँचथरको घटनाबारे संघीय संसद अन्तर्गत राष्ट्रिय सभालाई जानकारी गराएका छन् । राष्ट्रिय सभाको अघिल्लो बैठकमा सांसदहरुले सो सामूहिक हत्याबारे गृहमन्त्रीसँग जवाफ माग गरे पछि गृहमन्त्री थापाले आज जवाफ दिएका हुन् । यही जेठ ६ गते राती करिब १०–११ बजेको समयमा पाँचथर जिल्लाको आरुबोटेमा भएको सामुहिक विभत्स हत्याको कारण विवाह र पारिवारिक सम्बन्ध भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको गृहमन्त्री थापाले जानकारी दिए । उनले सो घटनामा परि दुई परिवारका ९ जना र पछि एक जना झुण्डिएको अवस्थामा फेला परेका व्यक्ति सहित कूल १० जनाको मृत्यु भएको र मृतक सबैको पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य अध्ययन प्रतिष्ठान पठाईसकिएको बताए ।

गृहमन्त्री थापाका अनुसार घटनामा गम्भिर घाईते भएकी एक जना महिलाको भने दमकस्थित अस्पतालमा अहिले उपचार भैरहेको छ । जेठ ६ गते राती नै घटनाको जानकारी पाए लगत्तै गृह प्रशासनले घटनास्थलमा तत्काल प्रहरी प्रशासन पठाई शान्ति सुरक्षा कायम गरिएको दाबी गर्दै गृहमन्त्री थापाले घटनामा परि घाईते भएकी एकजा महिलालाई तत्काल उपचारको लागि अस्पताल पठाइएको राष्ट्रिय सभालाई जानकारी दिए । गृहमन्त्री थापाले सो सामूहिक हत्या काण्डमा तत्काल ९ जना मात्र मृत्यु भएको देखिए पनि भोलि पल्ट विहान भने त्यही नजिकै एक जना पुरुषको पनि रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको बताए ।

सो घटनाको अहिले प्रहरी बरिष्ठ उपरिक्षकको नेतृत्वमा प्रदेश नं १ को प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान व्यूरोको संयुक्त टोलीले अनुसन्धान जारी राखेको बताउँदै गृहमन्त्री थापाले सो घटनाबारे गृहमन्त्रालयलाई थप जानकारी आए पछि अरु थप जानकारी सदनलाई गराइने पनि बताए । गृहमन्त्री थापाले अहिले सो क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न तथा घटनास्थलको सुरक्षा गर्नका निम्ति नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटाइएको बताएका छन् । त्यहाँको अवस्था अहिले सामान्य रहेको जानकारी दिंदै गृहमन्त्री थापाले त्यस्ता खाले घटना अबका दिनमा घट्न नदिने तर्फ गृह प्रशासन सधैं सजग रहेको पनि स्पष्ट पारे ।

यसैबीच, राष्ट्रिय सभाको आजको बैठकले ‘शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक’लाई दफाबार छलफल लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘शिक्षाा सम्बन्धी केी नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ लाई दफाबार छलफलको लागि विधायन व्यवस्थापन समितिमा पठाईयोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्तावलाई बैठकको सर्वसम्मतीले स्वीकृत गर्दै समितिमा पठाएको हो । राष्ट्रिय सभाको आजको बैठकको शुरुमा शुन्य समयका कार्यक्रम समेत चलेको थियो । राष्ट्रिय सभाको अर्को बैठक जेठ १३ गते मध्यान्ह पौने १२ बजेका लागि डाकिएको छ ।