समाचार
पाकिस्तानी दम्पत्तिको नेपालमा यस्तो कूकर्म, अन्ततः पक्राउ परे
काठमाडौं । पाकिस्तानी एक दम्पत्ति चोरी गरेको आरोपमा पक्राउ परेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाले चोरीमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा राहदानी नं. क्यूडब्लू ४१०२६४३ वाहतक मोसिन खान र एइ ०११०९४३ वाहक पूजा मोसिन खान छन् । गएको २९ वैशाखमा भक्तपुरको सूर्य्विनायकमा उनीहरुले आफूसँग यूएस डलर भएको बताउँदै चोरी गरेका महाशाखाको दाबी छ ।
सूर्य्विनायकमा चोरी गरेर भागेका उनीहरुले लोकन्थलीमा पुगेर फेरि किचन स्टोर्सबाट ७० हजार रुपैयाँ चोरी गरे । उनीहरुले रुपन्देही पुगेर पनि राइजिङ स्पोर्टस् ग्यालीबाट पनि १ लाख ५० हजार रुपैयाँ चोरीको प्रयास गरेको महाशाखाले जनाएको छ । पक्राउ परेका उनीहरुको साथबाट ५० दरका १७ र एक सय दरका २१ थान यूएस डलर, पाकिस्तानी मुद्रा ८ सय र नेपाली रुपैयाँ एक लाख ३७ हजार ५ सय बरामद भएको थियो ।
अध्यागमन विभागको रेकर्ड अनुसार उनीहरु एक महिनाअघि मात्रै पर्यटक भिसामा नेपाल प्रवेश गरेका थिए । थप अनुसन्धान महानगरीय प्रहरी वृत्त, ठिमीले गरिरहेको छ ।



