मनोरञ्जन
उदयपुरमा प्राकृतिक ताज महल हेर्न आउनेको भीड तस्विर
उदयपुर /उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ८ माटे खोलाको शिरमा रहेको प्राकृतिक ताजमहलको आकृति भएको पहाड हेर्न आउनेको भिड लाग्न थालेको छ । शाही खोलाको किनारमा अवस्थित पहाडको भित्तामा प्राकृतिक रुपले ताज महलको आकृतिमा रहेको माटोको ढिस्कोलाई अवलोकन गर्न आउनेको भिड लाग्न थालेको छ ।
स्थानीयहरुले पहाडको भित्तामा रहेको उक्त सुन्दर आकृतिको महल जस्तो आकारलाई सामाजिक संजालमार्फत पोस्ट गरेपछि सर्वसाधारणको साथै शिक्षक, विद्यार्थी, समाजसेवी, व्यवपारी लगायतको पहाड हेर्न भिड लागेको छ ।
उदयपुरको साथै सिरहा, सप्तरी लगायतका जिल्लाबाट समेत सर्वसाधरण ताज महलको अवलोकन गर्न आउने गरेको प्राकृतिक ताज महल संरक्षण तथा सम्वद्र्धन समितिका अध्यक्ष राजकुमार दनुवारले बताए । उनका अनुसार विशेष गरेर त्रियुगा नगरपालिका लगायत सिरहा, सप्तरीको साथै काठमाण्डौं, विराटनगर जस्ता ठाउँमा रोजगारीको सिलसिलमा रहेका र दशैं मनाउन गाउँ आएकाहरु प्राकृतिक ताजमहल हेर्न आउने गरेको बताए । प्राकृतिक रुपमा ताजमहलको आकृति भएको माटोमै महल बनेको सुन्दा गाईघाटबाट ६ जना अटो टेम्पू नै रिजर्भ गरेरै हेर्न आएको अन्दाजी ६० वर्षीया वृद्धा विन्दा दाहालले बताईन् ।



