समाचार
भोजपुरमा हेलिकप्टर मार्फत सुत्केरीको उद्धार
भोजपुर / भोजपुरमा हेलिकप्टरमार्फत सुत्केरी महिलाको उद्धार गरिएको छ । रामप्रसाद राई गाउँपालिका वडा नम्बर ३ घर भई हाल भोजपुर नगरपालिका वडा नम्बर ९ भोटेपसलमा बस्दै आएकी कमला राईको उद्धार गरिएको हो । सोमबार बिहान ३ बजेर ३८ मीनेटमा घरैमा छोराको जन्म दिएकी कमलाको अत्याधिक रत्तश्राप भएपछि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत ‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि हवाई उद्धार सम्बन्धी कार्यविधि २०७५’ अनुसार कमलाको उद्धार गरी हेलिकप्टर मार्फत थप उपचारका लागि नोबेल अस्पताल विराटनगर पठाइएको महिला, बालबालिका जेष्ठ मन्त्रालयले जानकारी दिएको छ । ग्रामीण क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको उद्धार कार्य कार्यविधि तयार पारी गत पुस महिनाबाट सुरु गरेको हो । सरकारले आर्थिक वर्ष २०७५÷७६ बाट राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा गर्भवती तथा सुत्केरी अवस्थामा स्वास्थ्य समस्याका कारण ज्यान जोखिममा रहेकालाई तत्काल हवाई उद्धार गरी स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले कार्यक्रम संचालन गरिएको हो ।
महिला मन्त्रालयले लगातार लामो प्रशव बेथा लागेको, बच्चा जन्मन कठिनाई भएको, गर्भमा नै बच्चाको मृत्यु भएको, गर्भ अवस्थामा हात खुट्टा शरीर सुन्निएको, अधिक रक्तश्राव भएको, रक्त अल्पता भएको, गर्भावती तथा सुत्केरी महिलालाई ‘ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिला’ भनि परिभाषित गर्दै त्यस्तो अवस्थाको महिलालाई उद्धार गर्ने गरेको राष्ट्रपति महिला उत्थान कार्यक्रमकी शाखा प्रमुख उपसचिव अन्जु ढुङगानाले जानकारी दिइन् ।

