समाचार

मोरङमा माटो मुनी अत्याधुनिक हतियार फेला

विराटनगर / मोरङको मिक्लाजुङ गाउँपालिका–६ स्थित नुनसरी–बक्राहा खोलामा आइतरबारराति अत्याधुनिक हतियार फेला परेको छ । नेपाली सेनाले मात्रै चलाउँदै आएको एम १६ ए टु हतियार फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । अमेरिकामा बन्ने यो हतियारमा प्रोपर्टी अफ युएस गभरमेन्ट लेखिएको छ । डीएसपी श्रेष्ठका अनुसार क्यालिवर ५.५६ एमएम र ७४६२५६२ नम्बरको हतियार फेला परेको हो । उनले माटो भित्र पुरिएको अवस्थामा फेला परेको हतियारका धेरै पार्टपूर्जाहरु काम नलाग्ने र सडेको अवस्थामा रहेको जानकारी दिए ।

प्रहरीले थोत्रो अवस्थामा फेला परेका कारण हतियार धेरै पहिलेदेखि माटोमा पुरिएको हुन सक्ने अनुमान गरेको छ । फेला परेको हतियार इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखेर अनुसन्धान सुरु गरिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए । उनका अनुसार अत्याधुनिक हतियार राईफलसहित म्यागजिन र त्यसमा लोड हुने पाँच राउण्ड गोली फेला परेको छ ।

द्धन्द्धकालमा सेनाले नेपालमा भित्राएको हतियार माओवादीले त्यही बेला सेनाबाट लुटेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । नुनसरी–बक्राहा खोलामा को १ क २४९० नम्बरको जेसिबीले उत्खनन् गरेर बालुवा र माटो निकाल्ने क्रममा पुरिएको अवस्थामा हतियार फेला परेपछि प्रहरीले खवर पाएको थियो । वातावरणीय प्रभाव मूल्यांकन गरेर यो खोलामा उत्खनन्को अनुमति दिइएको छ ।

यो हतियारले लगभग १ किलोमिटरसम्मको दूरीलाई तार्गेट गर्न सक्ने बताइएको छ । एसपी केसीले भने, ‘अहिलेसम्म अत्याधुनिक हतियार कहाँबाट त्यहाँ पु¥याइयो भन्ने खुलेको छैन । सबै विषयलाई जोडेर अनुसन्धान थालिएको छ ।’ आफूसँग मात्रै हुने हतियार फेला परेपछि नेपाली सेनाले पनि आफ्नै हिसाबमा अनुसन्धान थालेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *