समाचार

बर्दियामा यस वर्षकै बढी गर्मी, लू चल्न थालेपछि जनजीवन प्रभावित

राजापुर- बर्दियामा यस वर्षकै सबैभन्दा बढी गर्मी भएको छ । अत्याधिक गर्मीका कारण यस क्षेत्रको जनजीवन अस्तव्यस्त भएको छ । अत्याधिक गर्मीकै कारण जनजीवन र व्यवसाय प्रभावित भएका छन् । वैशाखको दोेस्रो सातामै बर्दियाको तापक्रमले ४५ डिग्री नाघ्नुका साथै दिनभरि तातो हावा (लू) चल्न थालेपछि यहाँको जनजीवन निकै अस्तव्यस्त बनेको हो ।

अत्याधिक गर्मीले गर्दा सर्वसाधारण न्यून सङ्ख्यामा मात्र घरबाहिर निस्कने गरेकाले व्यापार व्यवसाय सबैभन्दा बढी प्रभावित भएको उद्योग वाणिज्य सङ्घ सानोश्री ताराताल कुशुम्बा बजारका कोषाध्यक्ष अमर भण्डारीले बताउनुभयो ।गर्मीकै कारण बर्दियाका अधिकांश विद्यालयलाई बिहान सञ्चालन गर्ने तयारी भइरहेको छ । अत्यधिक गर्मी बढेका कारण जिल्ला अस्पताल र विभिन्न मेडिकलमा ह्वात्तै बिरामी बढेका छन् । बिरामीकै चापले अस्पतालमा बेडको समेत अभाव हुन थालेको अस्पतालले बताएका छन् । गर्मी र चलेको तातो हावाले बिरामीको चाप बढेको अस्पतालका चिकित्सक बताउछन् ।

गर्मीका कारण लु लागेका, झाडा पखाला र विभिन्न प्रकारका छालाजन्य रोगका बिरामी अस्पतालमा बढी आउने गरेको बर्दिया जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डन डा सुवास पाण्डेले बताउनुभयो । अत्याधिक गर्मीकै कारण बर्दियाका बालबालिकामा शरीर भरि रातो बिमिरा आउने र पाकेर घाउ बन्ने संक्रमण देखिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *