समाचार

खोटाङका टुहुरा बालबालिकालाई प्रवासबाट सहयोग

खोटाङ / बाबुआमाको मृत्यु भएपछि अनाथ बनेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ७ बालबच्चालाई प्रवासबाट थप आर्थिक सहयोग प्राप्त भएको छ । करेन्ट लाग्दा गत साउन १८ गते ज्यान गुमाएका धितुङका चन्द्र किरात र अनिच्छुक गर्भपतन गराउनेक्रममा स्वास्थ्यकर्मीको त्रुटिका कारण २०७३ साल भदौ १९ गते जिल्ला अस्पतालमा ज्यान गुमाएकी तलकुमारी राईका ५ छोरी र २ छोरालाई हाल वैदेसिक रोजगारीका सिलसिलामा विभिन्न देशमा रहेका शुभेच्छुकबाट एक लाख दुई हजार एक सय रुपैयाँ सहयोग प्राप्त भएको हो ।

हाल कतारमा रहेका महेश दाहालको नेतृत्वमा संकलन भएको ५१ हजार, मलेसियामा रहेका भक्त कार्कीको नेतृत्वमा संकलन भएको ३९ हजार एक सय र दक्षिण कोरियामा रहेका अबिकेशर राईबाट प्राप्त भएको १२ हजार रुपैयाँ सहयोग प्राप्त भएको हो ।
प्रवासमा रहेका शुभेच्छुकबाट संकलन भएको रकम आईतबार काठ्माण्डौं पेरिसडाँडा कोटेश्वरमा आयोजित कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य समिता कार्की र किराती राष्ट्रिय मुक्तीमोर्चाका पुर्वकेन्द्रिय सदस्य दिपेन्द्र किरातीको हातबाट अनाथ बालबालिकालाई हस्तान्तरण गरिएको छ । अभिभाबकविहिन भएपछि गत मंसिर १७ गतेदेखि एसओएस बालग्राम सानोठिमी भक्तपुरको आश्रयमा बसिरहेका बालबालिकालाई आफन्तको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको हो ।

बाबुआमाको मृत्यु भएपछि बिचल्नीमा परेका ४ वर्षदेखि १६ वर्ष उमेरका बालबच्चालाई यसअघि पनि स्वदेश तथा बिदेशमा रहेका शुभेच्छुकबाट लाखौं रकम सहयोग प्राप्त भइसकेको छ । नागरिक दैनिकमा प्रकाशित समाचारको आधारमा समेत बालबालिकालाई आर्थिक सहयोग जुटेको थियो ।

राई परिवारकी जेठी बुङाटुङ बुलापन्थे माबि धितुङमा कक्षा १२ मा अध्ययनरत थिईन् । बुङाटुङका १४ वर्षीय माईली बहिनी रिमाबुङ कक्षा १० मा, १२ वर्षीय साहिली बहिनी माहुरबुङ कक्षा ८ मा, १० वर्षीय काइली बहिनी इलाबुङ कक्षा कक्षा ६ मा र ६ वर्षीय कान्छी बहिनी नियाबुङ कक्षा १ मा पढ्थिइन् । यस्तै, ८ वर्षीय जेठो भाई नाम्साङहाङ कक्षा ४ मा र ४ वर्षीय कान्छो भाई तिप्सुहाङ कक्षा १ मा अध्ययनरत थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *