समाचार

श्रीलंका बम विष्फोटमा भाग्यले बाँचेका यी नेपाली

काठमाडौं । श्रीलंकाको राजधानी कोलम्बो र अन्य स्थानमा भएका शृङ्खलाबद्ध विस्फोटनमा विदेशी नागरिकहरू पनि परेको विवरण सार्वजनिक भइरहेका बेला एक नेपाल भाग्यले बाँच्न सफल भएका छन् । केही घण्टा अगाडि कोलम्बो अस्पतालले ३५ विदेशीको मृत्यु भएको पुष्टि गरेको छ। तर श्रीलंकामा बसोबास गर्ने नेपाली समुदायका सदस्यबारे अहिलेसम्म कुनै अप्रिय जानकारी नआएको र सबै सुरक्षित भएको हुन सक्ने श्रीलङ्काका लागि नेपाली राजदूत विश्वम्भर प्यार्कुयालले बीबीसी नेपाली सेवालाई जानकारी दिएका छन् ।

दूतावासकी प्रथम सचिव धनकुमारी जोशी भन्छिन्, ‘यहाँ बस्ने नेपालीहरूले सामाजिक सञ्जाल फेसबुकको एउटा समूहमा आफूहरू सुरक्षित भएको जानकारी दिएका छन्।’ हताहत भएका विदेशी नागरिकहरूको राष्ट्रियता भने अझै स्पष्ट भइसकेको छैन। श्रीलंका सरकारले विदेशी कूटनीतिज्ञहरूसँग भेटघाट गरेर औपचारिक जानकारी दिएपछि मात्र त्यो स्पष्ट हुन सक्ने राजदूत प्यार्कुयालको भनाइ छ।

कोलम्बोमा बौद्ध भिक्षु, विद्यार्थी, व्यापारी र विभिन्न सेवाक्षेत्रमा काम गर्ने व्यक्तिहरू एवम् तिनका परिवारका सदस्यसमेत झन्डै चार सय नेपालीहरू भएको अनुमान नेपाली दूतावासको छ। श्रीलङ्काभरि भने झन्डै एक हजार नेपालीहरू भएको बताइन्छ।

गिर्जाघर र होटलहरूमा विस्फोटन भएको र धेरै मानिस हताहत भएको समाचारले श्रीलंकामा बस्ने नेपाली समुदाय पनि स्तब्ध भएको छ। त्यसमध्ये परशु गौतम चाहिँ झन् बढी छक्क परेका छन्। किनभने आइतवार बिहानको खाना खाएर निस्किएको ठाउँमा आधा घण्टापछि विस्फोटन भएको खबर उनले पाए। उनी डेढ महिना समयदेखि कोलम्बोस्थित साङ्ग्रिला होटलको अपार्टमन्टमा बस्दै आएका छन्। बीबीसी नेपाली सेवासँग टेलिफोनमा कुरा गर्दै उनले भने, ‘टीभीहरूले मैले ब्रेकफास्ट खाएको टेबल देखाइराखेका छन्।’

गौतम विगत १४ वर्षदेखि श्रीलङ्कामा व्यापार गर्दै आएका छन्। घटनाबारे थाहा पाएपछि उनले नेपाली दूतावासलाई आफू सुरक्षित भएको जानकारी दिए। भन्छन्, ‘त्यहाँ स्थिति तनावपूर्ण रहेको र सुरक्षित पनि नलागेकोले म फर्केर होटल गएको छैन।’ उनी अहिले पेलियागोडास्थित कार्यालयमा छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *