आईतबार नयाँ बर्षको दिन नेपालगन्ज–१० भृकुटीनगरमा एक किशोरीको रहस्यमय मृत्यु भयो । किशोरी थिईन् १९ बर्षीय स्वस्तिका लिम्बु । गत कार्तिक ५ गते भृकुटी नगरकै २० बर्षीय मुकेश बुढा क्षेत्री (आशिष) सँग प्रेम विवाह गरेकी लिम्बुको मृत्युलाई माईती पक्षले हत्या भनेको छ । तर, घरपक्षधरले भने आत्महत्या ।

आईतबार दिउँसो करिब ३ बजे स्वस्तिका पंखामा झुण्डिएको अवस्थामा भेटिएको घरवालाहरुको भनाई छ । तर, प्रहरी पुग्दा भने स्वस्तिकाको शव खाटमा पाईएको थियो । श्रीमान् मुकेशले नै हत्या गरेर आत्महत्या जस्तो देखाउन खोजेको माईतीपक्षको आरोप छ । माईती पक्षका अनुसार मुकेश लागुऔषध दुव्र्यसनी थिए । प्रहरीसमक्ष दिइएको जाहेरीमा पनि मुकेश लागुऔषध दुव्र्यसनी रहेको र विगतमा पनि स्वस्तिकालाई कुटपीट गर्ने गरेको उल्लेख छ ।
प्रहरीले हत्या हो वा आत्महत्या भन्ने अनुसन्धान भईरहेको जनाएको छ । जिल्ला प्रहरी प्रमुख अरुण पौडेलले हत्या हो वा आत्महत्या भन्नेमा आफूहरु अनुसन्धानकै क्रममा रहेको जानकारी दिएका छन् । मृतक स्वस्तिकाका माईतीपक्षधरले श्रीमान् मुकेशविरुद्ध किटानी जाहेरी दिएको र दर्ता गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाईएको प्रहरी उपरीक्षक पौडेलको भनाई छ ।
मृतक स्वस्तिकाको शरीरभरी चोटपटक लागेको, दिउँसो १२ बजेसम्म नयाँ बर्ष मनाउन घर (माईत) आउन चाहेको तर श्रीमान्ले जान नदिईरहेको भनेर मोबाईलमा भनेको, मृत्यु पछि स्वस्तिकाको मोबाईल गायब भएको, पंखामा भुण्डिएको भनिएको शव प्रहरी नपुग्दै झिकिएको र घटना मिलाउन राजनीतिक शक्तिको आडमा प्रहरीलाई दवाव दिईरहेको भन्ने दलिल दिँदै पीडित पक्षले निष्पक्ष अनुसन्धानको माग गरेको छ ।
पीडित पक्षको दवावपछि प्रहरीले घटना भएको भृकुटीनगरस्थित घरमा पुगेर सोमबार पुनः जायजा लिएको छ । प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटासहितको अनुसन्धान टोलीले घटनास्थलको पुनः जायजा लिएको हो ।
स्वस्तिकाको हत्या आरोपित मुकेश नाताले सांसद नन्दलाल रोकायाका नाति (छोरीका छोरा) हुन् । सोमबार दिउँसो सांसद रोकाया जिल्ला प्रहरी कार्यालयमा पुगेर थुनामा रहेका मुकेशलाई भेटेका थिए । उनले प्रहरी अधिकृतहरुसँग पनि घटनाबारे सोधपुछ गरेका थिए । प्रहरीसँग रोकायाले भेटेको विषयलाई पीडित पक्षले अनुसन्धानमा दवाव दिएको रुपमा बुझेको एक प्रहरी अधिकारीले बताए । तर प्रहरी उपरीक्षक पौडेलले भने विनाकुनै दवाव आफूहरुले अनुसन्धान गरिरहेको दाबी गरेका छन् ।


