४ वैशाख, काठमाडौं । मंसिर अन्तिममा कोलकत्तामा बरामद भएको ३३ किलो सुन नेपालबाट गएको दाबी गलत सावित भएको छ ।
भारतीय भारतको राजश्व अनुसन्धान विभाग (डीआरआई), कोलकताले उक्त सुन भुटानबाट आएको प्रतिवेदन तयार पारेको छ । विभागका वरिष्ठ अनुसन्धान अधिकृत तुसार कान्ती विश्वासद्वारा हस्ताक्षरित विवरणमा सुन भुटानबाट आएको भनिएको हो ।
भारतको कोलकता जाने क्रममा २१ मंसिरमा धन्कुनी टोल प्लाजामा डब्लुबी ७४ एडी ६८२० नम्बरको मारूती भ्यानमा ३३ किलो सुन बरामदभएको थियो । भ्यानमा सवार हेमप्रसाद शर्मा र राकेश प्रसाद पक्राउ परेका थिए ।

त्यसबारे खबर सार्वजनिक हुनासाथ नेपालमा साढे ३३ किलो सुनकाण्डको अनुसन्धान गरेको समितिले चासो देखाएको थियो । समितिको म्याद सकिएको चार महिना भइसकेको अवस्थामा समितिका अधिकारीले नेपालमा हराएको सुन भेटिएको हुनसक्ने बताएका थिए । भारतमा पक्राउ परेका दुई व्यक्तिको नाम आफ्नो अनुसन्धानको दायरामा आएका व्यक्तिसँग मिलेको उनीहरुको दाबी थियो ।
चुडामणि उप्रेती ‘गारे’ समूहले यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको तस्करीको ३३ किलो सुन हराएको थियो । सुन हराएपछि गोरे समूहले दिएको यातनाका क्रममा सनम शाक्य मृत्यु भएपछि सुनकाण्डबारे छानविन भएको थियो ।
त्यसक्रममा चार वर्षमा साढे ३८ क्विन्टल सुन विमानस्थलबाट तस्करी भएको खुले पनि हराएको भनिएको साढे ३३ किलो सुन भने भेटिएको थिएन । जुन कारण समिति आलोचित भइरहेको थियो । त्यसैले भारतमा भेटिएको सुन नेपालबाट हराएको हुनसक्ने समितिको दाबी थियो ।
तर, डीआरआईको अनुसन्धानबाट हेमप्रसाद, विहारको अररिया एसके रोड निवासी रहेको देखिएको छ भने राकेशको ठेगाना दार्जिलिङको चन्दमरी मित्र रोड खुलेको छ । जबकी, सुरुमा राकेशले आफू नेपाली मुलको भएको बयान दिएका थिए ।


