समाचार

भेटिएन रमिलाको शव,एक्सपोर्ट टिम ल्याउने तयारी

मोरङ । मोरङको बेलबारी ४ बाट फागुन १७ गतेबाट बेपत्ता भएकी स्थानीय २६ बर्षिया रमिला राईको शव अझै भेटिएको छैन । सोही रात उनको हत्या गरी सप्तकोशीमा फालिएको उनको हत्या आरोपमा पक्राउ परेका स्थानीय नेकपा नेता योगेन्द्र गुरुङको बयानको आधारमा ५ दिनदेखि प्रहरीले सप्तकोशीमा शव खोजेपनि फेला पार्न नसकिएको ईलाका प्रहरी कार्यलय बेलबारकिा प्रहरी निरिक्षक रामकुमार राईले बताएका छन ।

शवको खोजीका लागी तालिम प्राप्त (एक्सपर्ट) टिम ल्याएर खोजी गर्ने तयारी भईरहेको समेत उनले बताए । हत्या भएको दिन गुरुङको घर छेउमा माछा खाडी खनिएको र केही भाग प्लाष्टर गरिएको स्थानीयले बताएपछि उनको शव कतै कोशीमा नफालिएर काही कतै गाडिएको त छैन भन्ने शंका समेत उत्पन्न भएका कारण स्थानीयलाई शंका नगर्न आग्रह गरी खोजी कार्य जारी राखिएको निरिक्षक राईले बताए ।

शुक्रबारदेखि लगातार शवको खोजीमा प्रहरी टोली सप्तकोसी र आसपासका स्थानमा सक्रिय रहेपनि शव फेला पार्न नसकिएपछि उनलाई महिला बेपत्ता पारेको अभियोगमा म्याद थप गरी अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यलय बेलबारीका प्रहरी निरिक्षक रामकुमार राईले बताएका छन ।

गुरुङले प्रेमिकाको हत्या गरी शव सप्तकोशीमा फ्यालिदिएको प्रहरीसामु स्वीकार गरिसकेका छन । फागुन १७ गते शुक्रबार राति गुरुङ सँगै निस्केकी राई सोही रातबाट बेपत्ता भएकी थिइन । गुरुङले हत्यापछि शव कोशी ब्यारेजमा पु¥याएर गेट नम्बर २९ बाट नदीमा फ्यालिएको बयान प्रहरीलाई दिएका छन् । घरमै हत्या गरेर आफ्नो गाडीमा हाल्दै शव नदीमा पु¥याएर फ्यालेको प्रहरीको भनाइ छ । हत्यापछि फरार बनेका गुरुङलाई भने प्रहरीले ४ दिन अघि इलामबाट पक्राउ गरेको थियो । आइतबारबाट शवको खोजीका लागि बेलबारीका स्थानीय बासिन्दाले पनि प्रहरीलाई सहयोग गरिरहेका छन् ।

आइतबारबाट पौडी खेल्न जान्ने दक्ष प्रहरी टोलीसमेत शवको खोजीमा जुटेको छ । डुंगासहित पौडीबाज प्रहरी टोलीले खोजतलास व्यापक बनाए पनि साँझसम्म शव फेला पार्न नसकिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राई आफै शवको खोजीमा खटिएका छन् । ‘हामीले दक्ष प्रहरी खटाएरै शवको खोजी गरिरहेका छौं । स्थानीय बासिन्दाले पनि यसमा सहयोग गरिरहेका छन,’ केसीले भने, ‘तर शव फेला पर्न सकेको छैन । पानीको ठूलो भँगालोमा फ्यालिदिएर बगाएर अन्यत्र पु¥याएका कारण फेला पर्न नसकेको हुन सक्छ ।’

सोमबारबाट पुनः शव खोजीमा विशेष प्रहरी टोली परिचालित भएको छ ।’ गुरुङले दिएको बयानका आधारमा प्रहरीले लगातार कोसी नदी आसपासमा खोजतलासलाई व्यापक बनाएको हो । ‘हत्या हुँदा शव फेला पर्नु पर्ने हुन्छ । कोसी नदीमा फ्यालेको बताएका कारण खोजीलाई निरन्तरता दिने काम भइरहेको छ,’ केसीले भने, ‘घटनामा अरु प्रमाण पनि जुट्नु पर्छ । सबै प्रमाण संकलन गरेर घटनासँग जोड्दै अनुसन्धान गर्ने काम भइरहेको छ ।’ प्रहरीले गुरुङले प्रयोग गर्दै आएको बा १५ च ७९१६ नम्बरको कार भने घरैबाट नियन्त्रणमा लिएको छ । गुरुङले आफ्नै घरमा महिलाको हत्या गरेपछि बोरामा पोको पारेर शव यही गाडीमा राखेर नदीमा फ्यालेको प्रहरीलाई बताएका छन् । गुरुङले बताए अनुसार खटिए पनि प्रहरीले उपलब्धी हाँसिल गर्न भने सकेको छैन ।

बेपत्ता भएकै रात महिलाको हत्या भएको खुलेको प्रहरीको भनाइ छ । घटना भएको रात ‘मादक पदार्थ सेवन (मापसे) गरेर योगेन्द्रकै घरमा पुगेका दुबै जना बीचमा केही बेर बादविवाद भएको देखिन्छ,’ एक प्रहरीले भने, ‘त्यही क्रममा मुख थुनिदिएपछि महिलाको मृत्यु भएको खुलेको छ ।’ गुरुङ र महिलाबीचमा केही समयदेखि प्रेम सम्बन्ध रहेको र त्यही सम्बन्धमा दरार उत्पन्न भएपछि रमिलाको हत्या गरिएको हुन सक्ने प्रहरी आशंका छ । गुरुङले पनि मापसे गरेर अनआवश्यक कुरा गर्न थालेपछि मुख थुनिदिएको र त्यही क्रममा महिलाको मृत्यु भएको प्रहरीलाई बताएका छन् । मृत्यु भएपछि आफू फस्ने भएका कारण शवलाई लगेर कोसी नदीमा फ्यालिदिएको उनलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *