सुनसरीको राजमार्गमा रोकिएन अवैध असुली, प्रशासन मौन ? अवैध असुली बन्द गराउन जनप्रतिनिधिको माग

अ+
अ
अ-

सुनसरी । जिल्ला समन्वय समितिका ठेकेदार भन्दै राजमार्गमा अवैध कर संकलनको कार्य रोकिएको छैन । केहि समयअघि पूर्वेली न्युजले जिल्लाको पश्चिमी नाका भाण्टावारीमा सहितका क्षेत्रमा अवैध कर संकलन भइरहेको बारे समाचार प्रकाशित गरेपछि “एक्सन” लिएको स्थानीय प्रशासन खुलेआम गैरकानुनी रूपमा फेरि राजमार्गमा असुली भईरहदा समेत मूकदर्शक बनेको छ ।

स्थानीय स्वायत्त शासन ऐनअनुसार जिल्लामा उत्पादित बस्तुको अन्य जिल्ला निकासी हुँदा सम्बन्धित जिल्ला विकास समितिले कर लिन पाउने प्रावधान छ । निकासीका लागि तयारी अवस्थामा रहेको बस्तुको उत्पत्ति स्थानमा त्यस्तो कर संकलन गर्नुपर्ने नियम छ । कुनै पनि कर संकलन गर्ने नाममा राजमार्गमा चल्ने सवारी साधनलाई कुनै किसिमबाट बाधा अवरोध उत्पन्न गराउन नहुने व्यवस्था छ । तर सुनसरीको राजमार्गमा नियमलाई अटेर गर्दै जिससका ठेकेदार भन्दै अन्य जिल्लाबाट मालसामान ओर्सादासमेत जबरजस्ती कर उठाउदै आएका छन् ।

विभिन्न क्षेत्रबाट आएको मालवाहक लोड गरी ल्याएको ट्रकलाई रोकी भाण्टावारीमा जबरजस्ती कर लिने गरेको व्यापारीहरूले गुनासो गरेका छन् । भाण्टावारी क्षेत्रमा रहेको ढाटबाट मालवाहक सवारी (ट्रक, टिपर, ट्याकंर, कन्टेनर) का चालकबाट ५ सय देखि २ हजार रुपैयाँसम्म करको नाममा गैरकानुनी रकम जर्बजस्ती उठाइरहेको भएपनि प्रशासनले कुनै कारबाही नगरेको पाइन्छ। जरीवाना वा भागेको भन्दै कतिपय सवारी चालकहरुबाट ५ हजार रुपैयाँ र सो भन्दा बढी मनलाग्दी र जर्बजस्ती रकम असुली भइरहेको एक सवारी चालकले बताए । रकम दिन नमानेपछि राजमार्गमा ट्रक छेक्ने युवाहरूको समूहले गालीगलौज तथा हातपात समेत गर्ने गरेको व्यापारीको गुनासो छ ।

राजमार्ग क्षेत्रमा गैरकानुनी एवं अवैध रुपमा खडा गरिएका असुली ढाटहरु के बिना कसैको संरक्षण सम्भव छ ? आँखा अगाडी यत्रो गैह्कानुनी धन्दा भईरहदा समेत किन सम्बन्धित निकाय चुपचाप तमासे बनेर बसीरहेको छ त् ? के प्रहरी नियम कानुन कार्यान्वयन गराउने निकाय होइन र ? अनि के नियम कानुन निरिह, सोझासिधा जनसामन्य र सर्वसाधारणको लागि मात्र हो ? दैनिक सयौं मालवाहक सवारीबाट मुख्य राजमार्गमै खुलेआम रुपमा असुली धन्दा गर्नेलाई के प्रहरी प्रशासनले समेत संरक्षण गरेकै हो त् ? भन्ने शंका गर्न थालिएको छ । यदि त्यस्तो हैन भने अँखा अगाडि गैरकानुनी असुली गर्ने ठेकेदारहरु लाई किन कार्वाही नगरेको ? भन्ने चासोको विषय बनेको छ ।

यता कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले जिससले गैरकानुनी रूपमा राजमार्गमा अवैध असुली गर्न दिएर गाउँपालीकाको नाम बदनाम गराउने काम गरेको गुनासो गरेका छन् । गाउँपालीका क्षेत्रको राजमार्गमा करको नाममा स्थानीय तह लाई कुनै जानकारी समेत नदिई जबर्जस्ती गैरकानुनी असुली बन्द गरिनुपर्ने बताए । स्थानीय सरकार लाई अघात पुर्याउने काम तत्काल बन्द गराउन जिसस सुनसरीलाई गाउँपालीका अध्यक्ष अन्सारीले आग्रह गरेका छन् । यसबारे प्रतिक्रिया लिन खोज्दा जिसस सुनसरीका सभापति गोपालराज भण्डारीसंग सम्पर्क हुन सकेन ।