काठमाडौं – पछिल्लो समय तराईका जिल्लामा देखिएको कुखुराबाट सर्ने ज्यानमारा बर्डफ्लु रोग काठमाडौंमा पनि देखिएको छ ।
ताकेश्वरका दुई कुखुरा पोल्ट्रीफार्ममा बर्डफ्लु भएको पुष्टि भएको छ ।
तारकेश्वर–७ स्थित बस्नेत टोलका श्यामसन्दुर बस्नेतको सागर पोल्ट्रीफार्म र श्यामकुमार बस्नेतको आकाश पोल्ट्रीफार्मका कुखरामा बर्डफ्लु भएको पुष्टि भएपछि २८ हजार कुखुरा नष्ट गरिएको नगर पशु शाखा प्रमुख डा. जयप्रकाश राय यादवले बताए ।

यादवका अनुसार गत वर्ष पनि हाँसमा बर्डफ्लुको संक्रमण देखिएको थियो । पुनः कुखुरामा संक्रमण देखिएको कारण हालसम्मको अध्ययनबाट पत्ता लगाउन नसकेको उनले बताए ।
बर्डफ्लु भएको पुष्टि भएपछि प्रभावित क्षेत्रमा रहेका पोल्ट्रीफार्मका कुखुरा नष्ट गर्ने काम भइरहेको छ । अन्य पोल्ट्री फार्मका कुखुरामा पनि बर्डफ्लुको लक्षण देखिन थालेकाले परीक्षणका लागि पठाइसकिएको बताइएको छ ।
प्रमुख यादवका अनुसार चार किल्लाभित्रका पन्छी नष्ट गरी खाडलमा पुरिएकोे छ ।
खाली रहेका खोरलाई पनि निःसंक्रमण गरिएको छ । बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र ‘भिर्कोन स्प्रे’ छर्ने काम भइरहेको बताइएको छ । केही दिनअघि तराईका जिल्लामा बर्डफ्लूको संक्रमण देखिएको थियो ।


