
काठमाडौँ,१५ फागुन । बचना ए हसीनों, लो मैं आ गया‘ सुनसरीको इटहरी उपमहानगरपालिका का ११ वर्षीय बालक प्रितम आचार्यले भारतको जी टिभीको साङ्गीतिक रियालिटी शो सारेगमप लिल च्याम्प्सुको आइतवारको प्रसारणमा गीत गाउँदा त्यहाँको माहोल एकाएक तात्न पुग्यो।
भारतीय गायिका ऋचा शर्मा तथा गायकद्वय शान तथा अमाल मल्लिक उनको गीत सुनेर निकै हौसिएका थिए।निर्णायकहरूको ठूलो समूह ग्रान्ड ज्युरीुले प्रितमलाई शतप्रतिशत अङ्क दियो।त्यसको अघिल्लो दिन शनिवार सिन्धुपाल्चोक स्थायी घर भई हाल भक्तपुरको नयाँ ठिमीमा बसोबास गर्ने अर्का प्रतियोगी १२ वर्षीय आयुष केसीले कुछ ना कहो‘ बोलको गीत गाएका थिए।निर्णायक शानले आयुषको प्रस्तुतिको मुक्तकण्ठले प्रशंसा गरे।

बच्चाहरूको सङ्गीतिक प्रतिभा प्रस्तुत गरिने जी टीभीको सो प्रतियोगितात्मक कार्यक्रमको २०१९ को संस्करणमा दुई नेपाली बालक प्रितम आचार्य र आयुष केसी प्रतिस्पर्धामा छन्।उनीहरू डिजिटल राउन्ड, विभिन्न स्थानमा भएका अडिशन, मेगा अडिशन हुँदै अहिले उत्कृष्ट १६ मा पुगेका छन्।प्रितम र आयुषका लागि अबको प्रतिस्पर्धा त्यति सहज नहुने नेपाली गायकगायिकाहरू बताउँछन्।
नेपालकै एउटा सङ्गीतिक रियालिटी शोमा निर्णायकको भूमिका निर्वाह गरिसकेका र अहिले प्रितम र आयुषको प्रस्तुतिलाई नजिकबाट हेरिरहेका गायक प्रमोद खरेल अबका दिनमा उनीहरूले अझै मेहनत गर्नुपर्ने बताउँछन्।
उनले भने, अब सबै उत्कृष्ट रहेकाले प्रस्तुतिमा सानो त्रुटिले पनि उनीहरू प्रतियोगिताबाट बाहिरिन सक्छन्। त्यसैले दह्रो मेहनत गर्नुपर्छ।गायिका आस्था राउतले उनीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा सक्दो प्रयास गर्न सुझाव दिएकी छिन्। गीतको शब्दमा डुबेर गाउनुपर्ने सल्लाह उनले दिइन्।निकै ठूलो प्रतिस्पर्धामा डुबेर गाउन सकेनन् भाइहरूले भने गाह्रो हुन्छ अबको प्रतिस्पर्धा।प्रितमकी आमा राधिकाले आफ्नो छोराको प्रस्तुतिले आफूलाई गौरवान्वित बनाएको बताइन्।
बाबुले राम्रो गरिरहेको छ। एउटा प्रस्तुतिमा बाहेक सबै प्रस्तुतिमा शतप्रतिशत अङ्क ल्याइरहेको छ। हामी हर्षित छौँ।आयुषका बुबा रामकृष्णले आफ्नो छोराले राम्रो प्रस्तुतिका लागि सक्दो प्रयास गरिरहेको बताए।छोराले सुरुदेखि नै राम्रो गर्ने प्रयास गरिरहेको छ। अहिले ऊ नेपालकै छोरा भएको छ।


