काठमाडौं ८ फागुन । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले नयाँ दिल्ली आएर कार्यभार सम्हालेका छन्। बाह्रखम्बास्थित नेपाली दूतावासमा नवनियुक्त राजदूत आचार्यले मंगलबार पदबहाली गरेका हुन्। यस क्रममा उनले नेपाल र भारतबीचको मित्रतालाई थप सुदृढ बनाउन पहल गर्ने बताए। ‘द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाएर सरकारलाई सहयोग गर्न आएको हुँ’, उनले भने, ‘म दुई मुलुकबीचको सम्बन्धलाई थप प्रगाढ र सुद्धृढ बनाउन केन्द्रित रहनेछु।’

तत्कालीन राजदूत दीपकुमार उपाध्यायले २०७४ असोजमा राजीनामा दिएपछि पद रिक्त थियो। कार्यवाहक राजदूतका रूपमा भरतकुमार रेग्मीले दूतावासको कार्यभार सम्हाल्दै आएका थिए। एक वर्ष पाँच महिनापछि राजदूत आचार्य आएका हुन्। मुख्य रूपमा समयमा पूरा नभएका परियोेजना सम्पन्न गराउने, व्यापारघाटा कम गर्न द्विपक्षीय व्यावसायिक क्रियाकलाप बढाउने उनले बताए।


