समाचार
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनालाई नागरिक अभिनन्दन
पर्वत,२८ माघ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई गृहजिल्ला पर्वतमा नागरिक अभिनन्दन गरिएको छ ।गण्डकी प्रदेशबाटै राज्यको विशिष्ट श्रेणीमा पुग्न सफल हुनुभएको भन्दै सम्मानस्वरुप उहाँलाई नागरिक अभिनन्दन गरिएको हो । पर्वत सदरमुकाम कुश्माबजारमा आइतबारदेखि शुरु भएको गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको उद्घाटनका अवसरमा उहाँलाई सम्मानपत्र, दोसल्ला, फूलमाला र खादा लगाएर आयोजक तथा महोत्सवमा सहभागी अतिथि र दर्शकले अभिनन्दन गरेका हुन् ।

कार्यक्रममा सहभागी जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, प्रदेशसभाका सदस्य तथा मन्त्री, सरकारका सचिव र दर्शकले फुलमाला लगाएर अभिनन्दन गरेका थिए । उनीहरुले पर्वत जिल्लाकै इतिहासमा राज्यको सबैभन्दा ठूलो तहमा पुग्न सफल हुनुभएको भन्दै जिल्लाको विकास निर्माणले अझै फड्को मार्ने विश्वाससमेत व्यक्त गरेका छन् ।


