समाचार

युवापुस्ताले चासो नदिँदा परम्परागत पञ्चेबाजा प्रचलन लोप हुँदै

बेझाड, २७ कात्तिक । युवापुस्ताले चासो नदिँदा परम्परागत रूपमा चलनचल्तिमा आएको पञ्चेबाजा बजाउने प्रचलन लोप हुँदै गएको छ । विवाह–ब्रतबन्ध तथा शुभकार्यमा बजाइने पञ्चेबाजा रामपुर क्षेत्रमा अहिले लोपोन्मुख अवस्थामा छ ।

परियार समुदायले बजाउँदै आएको पञ्चेबाजा नयाँ पुस्तामा सीप हस्तान्तरण नभएका कारण लोप हुँदै गएको छ । पञ्चेबाजा बजाउने चलन हट्दै गएको छ । बाउबाजेको पेशा र सीपलाई पछिल्लो पुस्ताले अवलम्बन नगर्दा संस्कृति नै हराउन थालेको रामपुर नगरपालिका–६ विजयपुरका ८२ वर्षीय हुमबहादुर दर्जी बताउनुहुन्छ । जानेबुझेदेखि नै पञ्चेबाजा बजाउन थालेपनि उमेर ढल्केपछि बजाउन छाडेको बताउनुभयो ।

विवाह, गाउँघरमा हुने विभिन्न शुभकार्य तथा सांस्कृतिक कार्यक्रममा तीन दिनसम्म लगातार बाजा बजाएर समय बिताएको दर्जी बताउनुहुन्छ । पुरानो कला–संस्कृति हराउन थालेकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो । “नौमती पञ्चेबाजा हिजोआज समुदायबाटै लोप हुन थालेको छ”, दर्जीले भन्नुभयो, “कला–संस्कृति लोप हुँदै जाँदा पहिचान नै मेटिन थालेको छ”, उहाँले भन्नुभयो ।

दर्जीलाई पञ्चेबाजा बजाउन सानैदेखि साथ दिँदै आउनुभएका रामबहादुर दमैले भने अहिले संस्कृतिलाई निरन्तरता दिनका लागि मगर तथा अन्य समुदायका व्यक्तिसँग मिलेर बाँजा बजाउने गरेको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “रामपुर क्षेत्रकै प्रख्यात विजयपुरको पञ्चेबाजा समूह भनेर चिनिने गथ्र्यो । अहिले बाजा बजाउने व्यक्ति नै छैनन्”, दमैले भन्नुभयो, “जसोतसो गरेर भए पनि बाँचुञ्जेलसम्म संस्कृतिलाई निरन्तरता दिनका लागि फरक समुदायसँग गएर बेलाबेलामा बाजा बजाउने गरेको छु ।”,

दमैले सनाइ, ट्याम्को, झुर्मा, ढोलक, नरसिंहा, कर्नाल र विकुल बजाउनुहुन्छ । परियार समुदायमा पहिले एउटा समूहमा १० जनाभन्दा बढी बाजा बजाउनेको संलग्नता हुने गरेकामा अहिले दुई जनामा मात्र सीमित रहेको छ । परियार समुदायको युवापुस्ता भने प्रतिष्ठा, पारिश्रमिक र स्थानीयस्तरमा पञ्चेबाजा बजाएर भोलिको भविष्य नभएका कारण संस्कृतिलाई निरन्तरता दिन नसकिएको बताउँछ ।

बिर्खबहादुर दर्जी आफ्ना बाउबाजेले पञ्चेबाजा बजाएर जीवन बिताए पनि आफू भने यस कार्यमा सरीक नभएको बताउनुहुन्छ । “बाजा बजाएर मात्र जीवन गुजारा सम्भव छैन,” उहाँले भन्नुभयो ।

विजयपुरकै गङ्गाबहादुर परियार पनि निकै उत्साहित भएर पञ्चेबाजा बजाउनने गर्नुहुन्थ्यो । बाजा बजाएर परिवारको गुजारा नचल्ने भएपछि उहाँ १० वर्षयता सिलाइकटाइ गर्नुहुन्छ । उहाँ बाजा बजाउन निकै सिपालु हुनुहुन्छ ।

कला र सीप स्थानीयस्तरमा मात्र सीमित रहँदा बाजा बजाउनै छाडेको परियारले बताउनुभयो । पछिल्लो समय परियार जातिले मात्र नभई मगर तथा अन्य समुदायले समेत पञ्चेबाजा बजाउने गरेको छ ।

गाउँघरमा पहिलेजस्तो पञ्चेबाजाप्रति त्यति आकर्षण देखिँदैन । जातिय पहिचान बोकेको कला–संस्कृतिको संरक्षण नहुँदा अस्तित्व नै मेटिन थालेको छ । यस्ता चलनचल्तीमा आएका कला–संस्कृति जगेर्ना गर्न सम्बन्धित निकायले ध्यान दिनु जरुरी छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *