समाचार

कारागारका सुरक्षागार्डको हत्या गर्ने एकजना अमेरिकीलाई घातक सुई लगाएर मृत्युदण्ड

काठमाडौँ,१३ कात्तिक । अमेरिकाको साउथ डकोटा राज्यमा कारागारका सुरक्षागार्डको हत्यामा दोषी पाइएका ५६ वर्षीय एकजना अमेरिकीलाई घातक सुई लगाएर सोमबार मृत्युदण्ड दिइएको छ ।

रोड्नी बर्गेट नामका ती व्यक्तिले सन् २०१२ मा जेल तोडेर भाग्ने असफल प्रयासमा जेलका एकजना सुरक्षागार्डको हत्या गरेका थिए । उनीमाथि दुईवटा हत्या प्रयास र एउटा बलात्कारमा समेत दोषी पाइएको थियो ।

उनका दाजुलाई समेत कार चोरी गर्नेक्रममा एकजनाको हत्या गरेको दोषी प्रमाणित भएपछि १८ वर्षअघि ओक्लाहोमा राज्यमा मृत्युदण्ड दिइएको थियो ।

अदालती सुनुवाईका क्रममा बर्गेटले आफू मृत्युदण्डको सजाय पाउन योग्य रहेको बताएका थिए । तैपनि अपिलका कारण उनको सजायमा ढिलाई भएको थियो । तर सन् २०१६ मा उनले अपिल फिर्ता लिएका थिए । उनले अपिल फिर्ता लिनेक्रममा जेलको कठघरामा अरु ३० वर्ष बिताउन नचाहेको बताएका थिए ।

सन् १९७६ मा साउथ डकोटा राज्यमा मृत्युदण्ड सम्बन्धी सजाय दिने कानुन पुनः जीवित गरिएपछि राज्यमा यो चौथो मृत्युदण्डको सजाय हो ।उनका दाजु रोजर बर्गेटलाई एक शिक्षकको हत्यामा दोषी ठहर गरी ३९ वर्षको उमेरमा ओक्लाहोमामा सन् २००० मा मृत्युदण्ड दिइएको थियो ।अमेरिकी सञ्चार माध्यमहरुले दुवै दाजुभाइ मदिरा सेवन र हिंसाको पृष्ठभूमिमा हुर्किएको बताएका छन् । एजेन्सी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *