समाचार
फोहोर व्यवस्थापनः कुरा धेरै भए काम भएन

काठमाडौं, १९ साउन । उपत्यकाको फोहोर उठ्न नसकेको झण्डै एक महिना हुन लाग्यो । कहिले फोहर ब्यवस्थापन गर्ने ठाउँको झमेलामा त कहिले फोहर फाल्न जाने बाटो नै बिग्रिँदा यस्ता कयौं समस्याहरु आउने गर्छन् ।
यो अहिलेको मात्र समस्या नभएर वर्षौ देखिको समस्या हो । काठमाडौंबासी एक हिसाबले फोहरसँग अभ्यस्त भैसकेका छन् भन्दा फरक पर्दैन ।
फोहरको उचित र दीर्घकालीन व्यवस्थापनका लागि विज्ञसहितको टोलीले छलफल गर्नु र काम गर्नु अपरिहार्य नै देखिएको छ ।
ल्याण्डफिल साइटको अल्पकालीन र दीर्घकालीन व्यवस्थापनको उपाय सुल्झाउन भन्दै महानगरका सहसचिव ईश्वरचन्द्र मरहठ्ठाको संयोजकत्वका ५ सदस्यीय अध्ययन समिति गठन गरिएको छ ।
समितिका अन्य सदस्यहरुमा ललितपुर महानगरसहित उपत्यका सवै नगर समेटिने गरि प्रमुख प्रशासकीय अधिकृतको रहने कायठमाडौं महानगरपालिकाले जनाएको छ ।
शुक्रबार महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाको अध्यक्षतामा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुबीच, फोहोरमैला व्यवस्थापनसम्बन्धी विद्यमान समस्या र समाधानका उपाय निकाल्न आयोजना गरिएको बैठकले उक्त समिति गठन गरेको हो ।
समितिलाई ३ वटा जिम्मेवारी दिइएको छ । जसमध्ये पहिलो, फोहोर व्यवस्थापनमा नगरपालिकाहरुको लागत सहभागिता सिफारिस गर्ने रहेको छ । दोश्रो ल्याण्डफिल साइटको दीर्घकालीन समाधानको विषय छ भने तेश्रो जिम्मेवारीमा हाल सञ्चालन भइरहेको ल्याण्डफिल साइट सञ्चालन क्षमता सकिएकोले तत्कालका लागि आवश्यक व्यवस्था के गर्ने भन्ने रहेको छ ।
यसअघिका समयमा पनि यस्ता पहलहरु नभएका होईनन् तर ती कुरामा मात्र सिमित रहँदा अहिले पनि फोहर व्यवस्थापनको अवस्था उस्तै वा झन् दयनीय अवस्थामा छ । अहिले गठित समितिले गर्ने अध्ययनबाट उचित निकास हुनुपर्छ ।

