प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारको अधिनायकवाद उन्मुख शैलीका विरुद्ध एकीकृत आन्दोलनको ज्वारभाटा उठाउने चेतावनी दिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गरी अनशनरत डा. गोविन्द केसीका माग तत्काल सम्बोधन नगरे एकीकृत आन्दोलनको ज्वारभाटा उठाउने चेतावनी दिएका हुन् ।
सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश नै अनशनरत गाेविन्द केसीले उठाएका मागकाे वास्तविक समाधान भएकाे उल्लेख गर्दै शर्माले शनिबार वानेश्वरमा भएकाे प्रदर्शनमा सरकारले गरेकाे हस्तक्षेपलाइ कांग्रेसले गम्भीर रूपमा लिएकाे बताएका छन् ।
विज्ञप्तीमा सभापति शेरबहादुर देउवा एवं नेता रामचन्द्र पौडेलले कांग्रेस तथा तरुण दलका घाइतेहरुको स्वास्थ्य अवस्था बुझनुका साथै आन्दोलनकारीहरुको हौसला समेत बढाएको उल्लेख छ ।
‘चिकित्सा शिक्षा विधेयक, चर्को मूल्यवृद्धि, संविधानको धारा ९१ को उपधारा २ को कार्यान्वयन, निषेधाज्ञा लगायतका मुद्दाहरुमा हाम्रो आन्दोलन जारी छ । सरकार आफ्नो रवैया रुपान्तरित गरेर तत्कालै समाधान खोज्नतर्फ नलागे अधिनायकवाद उन्मुख शैलीका विरुद्ध अझ प्रभावकारी र एकीकृत आन्दोलनको ज्वारभाटा झेल्नु पर्ने चेतावनी दिन चाहन्छौँ’, विज्ञप्तीमा उल्लेख छ ।
‘अनशनको तेस्रो साता पूरा भैसक्दा पनि वार्ता मार्फत समाधान खोज्ने र उहाँको जीवन रक्षा समेत गर्ने विषयमा सरकार गम्भीर नहुनुलाई अत्यन्तै गैर जिम्मेवार प्रवृत्ति ठहर गर्दै घोर भत्र्सना गर्दछौं’, विज्ञप्तीमा उल्लेख छ ।
आक्रमणबाट नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेपाली कांग्रेस ललितपुरका सभापति मदन अमात्य, नेपाल प्रेस युनियनका महासचिव अजयवावु शिवाकोटी लगायत ४ दर्जनभन्दा बढी घाइते भएको कांग्रेसले जनाएको छ ।


