गण्डकी । फूलैफूलको पर्व तिहार ढोकैमा आइपुगेको छ । यही छेकोमा पोखरा रङ्गशालाको प्रदर्शनीकक्ष रङ्गीबिरङ्गी फूलले सजिएको छ । प्रदर्शनीकक्षमा पुग्नेहरु फूल हेरेर मग्न देखिन्छन् । कोही फूलअघि ‘सेल्फी’ लिइरहेका छन् । कोही आफूलाई मनपर्ने फूललाई तस्बिर र श्रव्यदृश्यमा कैद गरिरहेका छन् । तारादेवीद्वारा स्वरबद्ध गीत ‘फूलैफूलको मौसम तिमीलाई…’ को झझल्को दिलाउनेगरी रङ्गशाला परिसर यतिबेला फूलमय बनेको छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल, कास्कीद्वारा आयोजित ‘नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा तेस्रो सयपत्री पुष्प मेला’मा फूल अवलोकनमात्र नभएर किनमेलका लागि सर्वसाधारणको भीड बढ्दो छ । बुधबारदेखि सुरु भएको प्रदर्शनीले फूल उत्पादक किसान, व्यवसायी र उपभोक्तालाई एकैथलोमा ल्याएको हो । सयपत्री, गोदावरीलगायत थरिथरिका फूल बिक्री तथा प्रदर्शनीमा राखिएको छ ।
तिहारका बेला फूलको माग र बिक्री बढी हुने भएकाले प्रदर्शनी आयोजना गरिएको हो । पोखराका फूल उत्पादक काशीराम गुरुङले दुई दिनमै सोचेभन्दा राम्रो फूलको किनमेल भएको बताउनुभयो । “यहाँ आउने कोही पनि रित्तो फर्केर जाँदैन, दिनैभर मानिसहरु आउनेजाने भइरहेको छ”, उहाँले भन्नुभयो, “फूल उत्पादक किसान, व्यापारी हामी सबै खुसी छौँ ।”
तिहारका लागि चाहिने सयपत्री र गोदावरी फूलको बिक्री बढी भइरहेको गुरुङले बताउनुभयो । प्रदर्शनी अवलोकनका लागि आउनुभएकी पोखरा महानगरपालिका–१० अमरसिँहचोककी शान्ता थापाले प्रदर्शनीमा आफूलाई मनपर्ने फूल रोजीरोजी किन्न पाइने बताउनुभयो । “प्रदर्शनीमा आउँदा फूल छनोट गर्न पाइन्छ, यहाँको वातावरणले पनि किनूँकिनूँ लाग्ने बनाउँछ”, उहाँले भन्नुभयो, “म फूलमा सौखिन पनि छु, प्रदर्शनीमा आएर रु सात हजार ५०० बराबरको विभिन्न फूल किनेँ ।”
फूलको किनमेलमा धेरै मोलमोलाइ पनि नहुने थापाले सुनाउनुभयो । उहाँले प्रदर्शनीको आयोजनाले फूल उत्पादक किसान र व्यवसायीलाई प्रोत्साहित गरेको बताउनुभयो । पोखरा–१२ मा रहेको गार्डेन नर्सरीका सञ्चालक रुपा श्रेष्ठले प्रदर्शनी अवलोकनमा आउनेको सङ्ख्या उत्साहजनक रहेको बताउनुभयो । आफूले ११ प्रकारका गोदावरी फूल बिक्री तथा प्रदर्शनीमा राखेको उहाँले बताउनुभयो ।
“रुचि र चासो लिएर धेरैजना प्रदर्शनी अवलोकनका लागि आइरहनुभएको छ, सबै स्टलमा व्यापार भइरहेको छ, चहलपहल अझै बढ्दै जान्छ”, श्रेष्ठले भन्नुभयो । स्थानीय फूल उत्पादक किसानलाई बजार उपलब्ध गराउने र उपभोक्तालाई सहज रूपमा फूल तथा फूलका बिरुवा खरिद गर्ने वातावरण सृजनाका लागि प्रदर्शनी आयोजना गरिएको एसोसिएसनका अध्यक्ष रामप्रसाद सुवेदीले बताउनुभयो । एसोसिएसनमा आबद्ध ४२ वटा नर्सरी तथा पुष्प व्यवसायीले फूल उत्पादन र बिक्रीवितरण गर्दै आएको उहाँको भनाइ छ ।


