समाचार

४७ वर्षपछि घर फर्किएका वृद्ध भन्छ्न बाचेर गाउँ फर्कन्छु भन्ने सोचेको थिइन्

लमजुङ, १४ साउन । घर छोडेर सम्पर्कविहीन भएको ४७ वर्षपछि एक वृद्ध घर फर्कनुभएको छ । बेँशीशहर नगरपालिका–२ भकुण्डेका प्रेमबहादुर खड्का ४७ वर्षपछि घर फर्किनुभएको हो ।

करीब पाँच दशकसम्म घर परिवारसँग सम्पर्कविहीन खड्का बुढ्यौलीसँगै अशक्त अवस्थामा पुगेपछि सोधखोज गर्दै गाउँसम्म आई पुग्नुभएको हो । खड्कालाई गाउँ आउँदा बूढापाकाले मात्र चिन्न सकेका थिए । उहाँले पनि थोरै मात्र बूढापाकालाई चिन्न सकेको बताउनुभयो ।

खड्काले भारतको मेघालयको एउटा गाउँ नजिकै रहेको जंगलमा गाई फारममा काम गर्दै आएको बताउनुभयो । “बाचेर गाउँ फर्कन्छु भन्ने सोचेको थिइन् जन्मथलो आए, सबैसँग भेटघाट भयो, खुशी लागेको छ” खड्काले भन्नुभयो ।

प्रेमबहादुरको उमेर ७० वर्ष नाघे पनि अहिलेसम्म नेपाली नागरिकता छैन । “मेरो बुबा÷आमाले पनि नागरिकता बनाएको मलाई थाहा छैन” उहाँले भन्नुभयो “७० वर्ष पुगेपछि यहाँ वृद्ध भत्ता पाइँदो रहेछ, नागरिकता बनाउन पाए सजिलो हुने थियो ।”

२००४ साल वैशाख १४ गते आफ्नो जन्ममिति भएको बताउने खड्का बाल्यकालदेखि नै काम सिलसिलामा भारतमा रहे पनि २०२८ सालमा बुबा चन्द्रबहादुर बित्दा जम्मा १४ दिन काजकिरियाको लागि घर आउनुभएको थियो । त्यसपछि पुनः भारत फर्कनुभएका प्रेमबहादुर अहिले ४७ वर्षपछि गाउँ आउनुभएको हो ।

बुबा बितेपछि आमा पनि अन्यत्र विवाह गरेर गएको बताउने खड्का अहिले सौतेनी आमापट्टिका छोराअर्थात् भाइ तिलकबहादुर खड्काको परिवारसँग रहनुभएको छ । खड्काले आफू अहिलेसम्म अविवाहित नै रहेको बताउनुभयो ।

धेरै वर्षपछि घर फर्कने क्रममा भारतकै मेघालयमा कुटपिटका साथै लुटिएको खड्काले दुःखेसो पोख्नुभयो । सातजनाको समूहले उहाँको साथमा रहेको २३ हजार भारतीय रुपियासमेत लुटेको उहाँले बताए ।

कुटपिट गरेर जंगलमा फालिएका प्रेमबहादुरलाई मेघालयका स्थानीयले फेला पारेर बचाएका थिए । बेवारिसे अवस्थामा पुगेका प्रेमबहादुरलाई लमजुङ धमिलिकुवाका एकजना गुरुङ थर भएका व्यक्तिले खर्च हालेर घर पठाएका हुन् । आफूलाई घर ल्याइदिने व्यक्तिले घर धमिलिकुवा भने पनि नाम भने थाहा नभएको उहाँले बताउनुभयो । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *