समाचार

सुवास नेम्वाङको सक्रियतापछि सरकार र डा. गोविन्द केसीबीच वार्ता शुरु

काठमाडौँ, ८ साउन । सरकार र आमरण अनसनरत डा. गोविन्द केसीबीच वार्ता शुरु भएको छ । शिक्षा मन्त्रालयमा चलिरहेको वार्तामा शिक्षा मन्त्रालयका सचिव खगराज बरालसहितको सरकारी टोली र डा. केसीको तर्फबाट डा जीवन क्षेत्रीको संयोजनमा, सुरेन्द्र भन्डारी, ओमप्रकाश अर्याल, डा अभिषेक राज सिंह र सुमीत पाण्डे सहभागी छन् ।

अनसनको २५औं दिनमा आज नेपाल कम्युनिस्ट पार्टीका नेता सुवास नेम्वाङ, माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमा, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा धर्मकान्त बाँस्कोटा, त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)का पूर्व डिनहरु डा मदन उपाध्याय, डा रमेशकान्त अधिकारी र डा केसीका वार्ता समितिका संयोजक डा अभिषेकराज सिंहबीच अनौपचारिक छलफल भएपछि दुवै टोलीबीच वार्ता शुरु भएको हो ।

डा. केसीको वार्ता टोलीले संसदमा विचाराधीन चिकित्सा शिक्षा अध्यादेश फिर्ता हुनुपर्ने फिर्ता गर्नुपर्ने पूर्वशर्त छाडेपछि सरकारी टोलीसँग संवाद सुरु भएको बताइएको छ । यसका लागि नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले पहल गरेका थिए । उनले केदारभक्त माथेमा र मेडिकल काउन्सिलका धर्मकान्त बास्कोटासँग छलफल गरेका थिए ।

लगत्तै नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरे । नेम्वाङले डा. केसीको वार्ता टोलीसँग पनि सम्वाद गरेको बुझिएको हो । सिंहदरबारमा भएको छलफलमा डा. केसीको वार्ता टोलीले चिकित्सा शिक्षा विधेयकमा केके संशोधन गर्नुपर्छ भनेर लिखित नै दिएको छ । स्रोतका अनुसार १० वर्षे प्रतिबन्ध, ५ वटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिनुपर्ने लगायतका बुँदा छन् ।

सरकारी वार्ता टोलीलाई विधेयकका विषयबस्तुमा छलफल गर्ने अधिकार दिइएको छ । वार्तामा मुख्यतय चिकित्सा शिक्षा विधेयकका बारेमा छलफल हुने जनाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *