खेलकुद

साउदीकाे सान्त्वना जित

काठमाडाैं – विश्वकप फुटबल अन्तर्गत आफ्नो अन्तिम खेलमा साउदी अरेबीयाले सान्त्वना जित हात पारेको छ।

समुह ए अन्तर्गत भोल्गोग्राड रङ्गशालामा सोमबार जारी विश्वकपको आफ्नो अन्तिम खेल खेलेका दुवै टोलीकालागि आजको खेलमा पहिलो जित निकाल्दै प्रतियोगिताको सुःखद अन्त्य गर्ने अवसर रहेको थियो। सोमबारको जितसँगै साउदीले प्रतियोगीतामा पहिलो जित दर्ता गरेको छ भने इजिप्टले कुनैपनि खेल जित्न नसकी  अंक विहिन रहँदै घर फर्केको छ।

सोमबारको खेलमा इजिप्टले पहिलो हाफमै अग्रता लिएपनि नतिजा आफ्नो पक्षमा पार्न सकेन। खेलको २२ औं मिनेटमा इजिप्टलाई अग्रता दिलाउने क्रममा मोहम्मद सालाहले गोल गरेका हुन्। सालाहले अब्दल्लाह अल सइदको पासलाई सदुपयोग गर्दै गोलरक्षक अगाडी बढेको मौकामा डि बक्स वाहिरबाटै सुन्दर गोल गरे।

पहिलो हाफको खेलमा एक शुन्यको अग्रता बनाउने इजिप्टको सपना पहिलो हाफको अतिरिक्त समयमा टुट्न पुग्यो। पहिलो हाफको अतिरिक्त समयमा साउदीले पाएको पेनाल्टीको अवसरलाई सलमान अल फराजले गोलमा परिणत गरे। इजिप्टका अली गबरले पेनाल्टी एरियामा साउदीका फहाद अल मुवालादलाई लडाएपछि साउदीले पेनाल्टी पाएको थियो।

साउदीको गोलसँगै पहिलो हाफ एक एकको बराबरीमा सकिएको खेलको दोश्रो हाफको अतिरिक्त समयमै पुनः इजिप्ट गोल खान पुग्यो। साउदीका सलेम अल दवासारीले अब्दुल्लाहको पासलाई सदुपयोग गर्दै डि बक्सभित्रबाट सुन्दर गोल गरे र आफ्नो टोलीलाई सान्त्वना जित दिलाए।

यो समुहबाट साउदी र इजिप्ट घर फर्कदाँ आयोजक रसिया र उरुग्वे भने नकआउट चरण प्रवेस गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *