खेलकुद

क्रोएसियालाई जित्नैपर्ने अर्जेन्टिनामाथि दबाब

आज राति ११ः४५

विश्वकप फुटबलमा समूह चरणको खेलमा नवप्रवेशी आइसल्यान्डसँग १–१ को बराबरीमा रोकिएको अर्जेन्टिनाका लागि दोस्रो खेलमा क्रोएसियालाई जित्नैपर्ने दबाब छ । समूह डीको दोस्रो खेलमा अर्जेन्टिनाले जित निकाले पनि नकआउट चरण सुरक्षित हुनेछैन । अर्कोतिर नाइजेरियालाई हराएको क्रोएसियाले ३ अंक बटुलेको छ । खेलमा क्रोएसियाभन्दा अर्जेन्टिनामाथि दबाब देखिन्छ ।

निर्विकल्प जित
अर्जेन्टिनाको यो विश्वकपमा सुरुवाती यात्रा निकै अप्रत्याशित रह्यो । विश्वचर्चित स्टार लियोनल मेसीले पेनाल्टी चुकाउँदा अर्जेन्टिना १–१ को बराबरीमा रोकियो । क्रोएसियाले भने प्रतियोगितामा महत्वपूर्ण अंक हासिल गरिसकेको छ । त्यसैले क्रोएसियाको लक्ष्य फेरि पनि अर्जेन्टिनालाई जितविहीन बनाउनु नै हुनेछ । तर, यसपटक अर्जेन्टिना स्वाभाविक रूपमा जितका लागि मैदानमा उत्रनेछ ।

१९७८ र १९८६ को विश्वविजेता अर्जेन्टिना लगातार ११ पटक विश्वकपमा छनोट भएको छ । साबिक उपविजेतासमेत रहेको अर्जेन्टिनालाई अब उपाधि दाबेदारीमा कुनै पनि गल्ती गर्ने छुट नभएको प्रशिक्षक जोर्गे साम्पाओलीको भनाइ छ । साम्पाओलीले पहिलो खेलमा राम्रो प्रदर्शन गरेकाले बाँकी खेलमा अब नतिजाका लागि प्रतिस्पर्धा गर्ने जनाएका छन् ।

नकआउटको लक्ष्यमा क्रोएसिया
क्रोएसियाले दक्षिण अमेरिकन टिमविरुद्ध राम्रो नतिजा निकाल्न सकिरहेको छैन । तर, पहिलो खेलमा नाइजेरियालाई हराएकाले क्रोएसिया अर्जेन्टिनालाई पराजित गर्दै नकआउट चरण सुरक्षित गर्ने ध्याउन्नमा छ । यद्यपि, उसको अर्जेन्टिनाविरुद्धको लक्ष्य भनेको गोल नखाने नै हुनेछ । क्रोएसिया राम्रो लयमा रहेको टिम हो ।

१९९१ मा युगोस्लाभियाबाट स्वतन्त्र राष्ट्रको हैसियतमा क्रोएसिया पाँचमध्ये चार विश्वकपमा छनोट भएको छ । क्रोएसियाले २०१० को विश्वकप मात्र गुमाएको थियो । क्रोएसियाको सनसनीपूर्ण खेलका रूपमा १९९८ को विश्वकपलाई लिने गरिन्छ । क्रोएसियाले नेदरल्यान्डलाई पराजित गरेर तेस्रो स्थान हासिल गरेको थियो । त्यसैले सोही इतिहास रसिया विश्वकपमा दोहो¥याउने सुरमा क्रोएसिया छ ।

अर्जेन्टिना बलियो
२००६ यता क्रोएसियाले दक्षिण अमेरिकन टिमलाई पराजित गर्न सकेको छैन । अर्जेन्टिनाविरुद्ध खेलेका चार खेलमा क्रोएसिया दबाबमा छ । चारमध्ये अर्जेन्टिनाले २ खेलमा जित निकालेको छ भने एक बराबरी र एक खेलमा क्रोएसिया विजयी भएको छ । पछिल्लोपटक २०१४ मा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना २–१ ले विजयी भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *