मिडिया सोसाइटी नेपालका अध्यक्षले दिए राजिनामा

अ+
अ
अ-

काठमाडौ, ६ असार । पत्रकारितालाई राजनीतिबाट मुक्त गर्न नसकेको जनाउँदै ‘मिडिया सोसाइटी नेपाल’का अध्यक्ष पुष्करलाल श्रेष्ठले पदबाट राजिनामा दिएका छन् ।

बुधबार प्रेस विज्ञप्तिमार्फत सोसाइटीको अध्यक्ष पदबाट राजिनामा दिएको घोषणा गरेका हुन् ।
मिडिया सोसाइटीको संस्थापक अध्यक्ष समेत रहेका श्रेष्ठले ‘आफ्नाे दोस्रो कार्यकालमा पनि आफुले सोचेको र संस्थाको उद्देश्य अनुसार संस्थालाई अघि बढाउन नसकिएको महसुस भएपछि वैठक राखेर राजीनामाको प्रस्ताव राख्दासमेत स्वीकृत नभएको अवस्था’मा राजिनामा दिएको उल्लेख गरेका छन् ।

मिडिया सोसाइटीका सदस्यहरुको अनुरोधमा निर्वाचन जितेर पुनः अध्यक्षको पदभार ग्रहण गरेका थिए ।

कामना प्रकाशनका समूहका अध्यक्ष तथा प्रधान सम्पादक समेत रहेका श्रेष्ठद्वारा जारी विज्ञप्ति भनिएको छ, ‘यसवीचमा मुलुकमा धेरै राजनीतिक व्यवस्था परिवर्तन भइसकेको छ । यति हुँदाहुँदै पनि न राजनीतिक प्रभावबाट पत्रकारितालाई मुक्त गर्न सकिएको छ न त स्वतन्त्र पत्रकारितालाई प्रवद्र्धन र संरक्षण गर्नुपर्ने दायित्व बोकेका राज्य संचालकहरुको सोचमा कुनै परिवर्तन ल्याउन सकिएको अवस्था छ ।

झन पछिल्लो समयमा पत्रकारितामा झांगिदै गएको डरलाग्दो राजनीतिक सिन्डिकेट र राज्यले समेत स्वतन्त्र पत्रकारितालाई प्रोत्साहित गर्नुको साटो राजनीतिक पार्टीसँग आवद्ध पत्रकारहरुलाई प्रोत्साहित र प्रश्रय दिने प्रचलन बढेपछि स्वतन्त्र पत्रकारको हैसियतले पत्रकारितासँग सवन्धित संघ–संस्थामा रहेर कार्य सम्पादन गर्न नसकिने महसुस गर्दै यही प्रेस विज्ञप्ति मार्फत राजिनामा दिने घोषणा गरेको छु ।’

मिडिया सोसाइटी नेपाल पत्रकारितालाई मर्यादित, व्यावसायिक र संस्थागत बनाउने उद्देश्यसहित प्रकाशकहरुको व्यावसायिक हकहितको संरक्षण र सम्वद्र्धनका लागि करिब १५ वर्षअघि स्थापना गरिएको संस्था हो ।