खेलकुद

फ्रान्सले अष्ट्रेलियालाई हरायो, पोग्वाको गोल निर्णायक

रूस – अष्ट्रेलियालाई २–१ ले पराजित गर्दै बलियो टोली फ्रान्सले रूसमा जारी २१ औं संस्करणको विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ।

समूह सी अन्तर्गत कजान एरिना रंगशालामा शनिबार सम्पन्न पहिलो खेलमा अष्ट्रेलियालाई पराजित गर्न फ्रान्सका एन्टोनियो ग्रिजम्यान र पाउल पोग्वाले एक – एक गोल गरे। यता पराजित टोलीका लागि मिले जेदिनकले एक गोल फर्काए। पहिलो हाफको खेल बराबरीमा सकिएपनि दोस्रो हाफमा २ गोल गर्दै फ्रान्सले महत्वपूर्ण ३ अंक हात पारेको हो।

खेलको ५८ औं मिनेटमा अष्ट्रेलियका डिफेन्डरले फ्रान्सका एन्टोनियो ग्रिजम्यानलाई डि बक्स भित्र फउल गरेपछि पाएको पेनाल्टीमा ग्रिजम्यानले गोल गर्दै टोलीलाई अग्रता दिलाए। सो क्रममा रेफ्रीले भिडियो प्रविधि भिएआरको सहायता लिएका थिए। एक गोललेपछि परेको अष्ट्रेलियाले लगत्तै गोल फर्कायो। ६२ औं मिनेटमा फ्रान्सका डिफेन्डर सामुयल उम्टिटीले डि बक्सभित्र हेन्ड गरेपछि पाएको पेनाल्टीलाई मिले जेदिनकले पोष्टको दिशा दिएका थिए। फ्रान्सका लागि निर्णायक गोल खेलको ८० औं मिनेटमा मिडफिल्डर पाउल पोग्वाले गरे।

खेलअवधिभर अष्ट्रेलियालाई दबाबमा राखेपनि फ्रान्सलाई गोल गर्न निक्कै संघर्ष गर्नु परेको थियो। फ्रान्सले पाएका धेरै अवसर सदुपयोग गर्न सकेन। यता तुलनात्मक रुपमा कमजोर मानिएको अष्ट्रेलियाले फ्रान्सलाई खुलेर खेल्न दिएको थिएन्। अष्ट्रेलियाले पनि पाएका केही अवसर सदुपयोग गर्न नसक्दा हार व्यहोर्न बाध्य भयो। फ्रान्सले आक्रमक खेल खेलेपनि उसका थुप्रै प्रहारहरु अष्ट्रेलियाका गोलरक्षक म्याट रायनले बचाएका छन्।

फ्रान्स फिफा वरियतामा ७ औं स्थानमा रहेको छ भने अष्ट्रेलिया ३६ औं स्थानमा छ। व्यावसायिक फुटबलमा विश्व हल्लाएका स्टारहरूको सधै साथ पाउने गरेको फ्रान्सले विश्वकप जित्न नसकेको दुई दशक पूरा भएको छ। घरमै १९९८ को संस्करण आयोजना गर्दा च्याम्पियन बनेको टोली त्यसयता विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा सधै निराश हुँदै आएको छ।

यता फिफा विश्व वरीयताको ३६ औं स्थानमा रहेको अस्ट्रेलिया रूस विश्वकपमा सहभागिता जनाउँदा कमजोर इतिहासमा सुधार ल्याउने लक्ष्यमा छ तर उसले पहिलो खेलमा भने हार व्यहोरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *